बालेन सरकारले कुनै पनि सैन्य गठजोड, हात–हतियारको दौडमा समनिकटताको नीति अवलम्बन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको दुईतिहाईको सरकारले बदलिँदो वैश्विक भूराजनीति र छिमेकी शक्तिहरूको उदयलाई विकासको अवसरमा बदल्न सन्तुलित र गतिशील कूटनीति अवलम्बन गर्ने जनाएको छ ।
मंगलबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरिएको राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा सन्तुलित र गतिशील कूटनीति अवलम्बन गर्ने विषय उल्लेख छ ।
प्रतिबद्धतामा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै बदलिँदो वैश्विक भू–राजनीति र छिमेकी शक्तिहरूको उदयलाई नेपालको विकासको अवसरमा बदल्न सन्तुलित र गतिशील कूटनीति अवलम्बन गरिनेछ ।’
‘नेपालका कूटनीतिक नियोगहरूको काम र जिम्मा नियोगको सक्रियता र नतिजा मापन गर्न वैज्ञानिक परफरमेन्स अडिट प्रणाली शुरू गरिनेछ,’ प्रतिबद्धता पत्रमा उल्लेख छ ।
प्रतिबद्धता पत्रमा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै नेपाललाई बफर स्टेटबाट भाइब्रेन्ट ब्रिजको रूपमा रूपान्तरण गरी त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीका माध्यमबाट राष्ट्रिय हित सुनिश्चित गरी नेपाललाई स्वतन्त्र, तटस्थ र विश्वशान्तिमा आधारित असंलग्न राष्ट्रको रूपमा विश्वमञ्चमा स्थापित गरिनेछ ।’
कुनै पनि सैन्य गठजोठमा नलागी सबैसँग समदूरी र समनिकटताको नीति अवलम्बन गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
‘कुनै पनि सैन्य गठजोड, हात–हतियारको दौड र युद्धले शान्तिलाई बाधा पुर्याउँदछ भन्ने मान्यतासहित सबैसँग समदूरी र समनिकटताको नीति अवलम्बन गरिनेछ,’ प्रतिबद्धता पत्रमा भनिएको छ ।
‘सम्पूर्ण कूटनीतिको केन्द्रमा नेपाल प्रथमः नेपाली प्रथमको अवधारणा आत्मसाथ गरिनेछ । आर्थिक कूटनीतिलाई बढावा दिनुका साथै सगरमाथा सम्वादजस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ,’ प्रतिबद्धता पत्रमा भनिएको छ ।
जलवायु परिवर्तन, हिमालयको संरक्षण, पर्वतीय मुद्दा र भूपरिवेष्ठत राष्ट्रका साझा हितमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज सशक्त रूपमा उठाइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया