जमानत जफत भएका ऋषि धमलाको क्लवमा ताला, राज्यलाई ७२ लाख तिर्न बाँकी
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा र भौतिक संरचनालाई राजनीतिक शक्ति र पहुँचको आडमा हडपेको सम्पत्ति फिर्ता ल्याउन सरकारले पहल थालेको छ ।
ऋषि धमलासहितका व्यक्तिहरूले राजनीतिक पहुँच र प्रभावमा जबर्जस्ती संरचना हडपेर बसेका थिए । परिषद्ले दर्जनौँपटक सूचना प्रकाशन गर्नेदेखि पत्र काट्नेर भाडा तिर्न तथा खाली गर्न आग्रह गरेको थियो । उनीहरूको राजनीतिक र प्रशासनिक पहुँचको बाहुबलीका अगाडि परिषद्को कुनै सिप चलेको थिएन ।
सोमबार परिषद्को टोलीले भृकुटीमण्डपमा सञ्चालनमा रहेका २० वटा स्टलमा सिल गरिदिएको छ । वर्षौंदेखि भाडा नतिरेका र तिर्न पनि नमानेका उनीहरूको बक्यौताको ठूलो रकम बाँकी छ । परिषद्लाई तिर्न बक्यौता ८ करोड ११ लाख ५६ हजार नाघेको छ । बक्यौता तिर्न सात दिनको म्याद दिएर परिषद्ले स्टलमा ताला लगाइदिएको छ । बक्यौता नतिरे कानूनबमोजिम थप कडा कारबाहीमा उत्रिने चेतावनी परिषद्ले दिएको छ ।
भाडा नतिर्नेमा सञ्चारकर्मी ऋषि धमलाको रिपोर्टर्स क्लब नेपाल पनि छ । क्लवले ०७२÷७३ देखि भाडा नतिरेको परिषद्का अधिकारीले बताए । चैतसम्मको बक्यौता ७३ लाख छ । पत्रकारिता छाडेर धमलाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा रौतहटबाट मोबाइल चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएका थिए । धमलाको जमानत जफत भएको छ ।
परिषद्को भृकुटीमण्डप कार्यालयको व्यवस्थापन विभागको शाखा प्रमुख खगनाथ रेग्मीले बक्यौता तिर्नेबारे ०७० देखि नै धेरैपटक ताकेता र प्रयास गरेको बताए । अटेर गरेर उनीहरूले बक्यौता नतिरेको रेग्मीले बताएका छन् ।
काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको बक्यौता दुई करोड ९० लाख २३ हजार ३७६ रुपियाँ छ । पुस्तकालयले लिएको ३४ र ६८ नम्बर स्टलको वर्षौँदेखिको बक्यौता छ । स्टल ३४ को एक करोड १३ लाख ५४ र ६८ नम्बर स्टलको एक करोड ७६ लाख छ ।
राष्ट्रिय अपाङ्ग महासंघको बक्यौता एक करोड १६ लाख छ । बालबालिकाका निम्ति गैरसरकारी संस्थाहरूको महासंघले पनि ९० लाख तिरेको छैन ।
भाडा नतिर्नेमा उपभोक्तावादी संस्थादेखि पत्रकार महासंघसम्म छ । उपभोक्ता मञ्च नेपालको बक्यौता ४५ लाख ५८ हजार छ । नेपाल पत्रकार महासंघको काठमाडौं शाखाको बक्यौता ३३ लाख छ । नेपाल राष्ट्रिय मानव अधिकार संरक्षण मञ्चले पनि २१ लाख ८६ हजार तिरेको छैन । नेपाल फोटो पत्रकार महासंघले २० लाख ६९ हजार तिर्न बाँकी छ ।
लोकतान्त्रिक शहीद तथा घाइते समाजको १४ लाख ६१ हजार र सेन्थेसिस एक्जिविसन एन्ड इभेन्ट्सको १० लाख बक्यौता छ । व्यापार गर्नेहरूले पनि भाडा तिरेका छैनन् । टीकाराम सिटौलाको झण्डै १२ लाख, यशोदाकुमारी सेठीको १० लाख ५९ हजार कृष्णप्रसाद लामिछानेको आठ लाख ९८ हजार, मञ्जु तिमिल्सिनाको आठ लाख आठ हजार र मनकला श्रेष्ठको सात लाख ४६ हजार बक्यौता छ ।
बुद्धिराम भुसालले ६ लाख ८८ हजार, हरि अमात्यले पाँच लाख १५ हजार, नारायणकुमारी निरौलाले दुई लाख ७३ हजार र चित्रबहादुर पण्डित क्षेत्रीले दुई लाख १९ हजार तिरेका छैनन् ।
पाँच वर्षदेखि गैरकानूनी रूपमा हडपेर बसिरहेको छ । अनेरास्ववियु एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले त परिषद्को संरचना गैरकानूनी रूपमा हडपेर कब्जा गरिरहेको छ । परिषद्का अनुसार अनेरास्ववियू ०७७ चैतदेखि परिषद्को स्टलमा बसिरहेको छ । अनेरास्ववियुले परिषद्सँग सम्झौता नै नगरी स्टल हडपेर लिएको थियो । सम्झौता नै नभएकाले यसको स्पष्ट हिसाब त छैन । परिषद्ले तोकेको दरअनुसार स्टलको भाडा मासिक ५४ हजारजति पर्छ । यो हिसाबमा पाँच वर्षमा उसले तिर्नुपर्ने भाडा ३२ लाख रुपियाँ नाघ्छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया