पोखरा घूस काण्डमा मुछिएका मन्त्री अधिकारीले नियुक्त गरेकी ललिताको समितिमा निकै चुरीफुरी
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतमलाई चौथो नम्बरमा रहेकी सदस्य ललिताकुमारी महर्जनले कार्यसम्पादन गर्न नदिएर आजित बनाएकी छिन् ।
समितिले समस्यामा रहेका सहकारीहरूको समस्या समाधान गर्ने अधिकार पाएको छ । समितिका अध्यक्ष गौतमसहितका सदस्य र कर्मचारीहरू समस्या समाधान भन्दा पनि समस्या बल्झाएर आफ्नो पदावधि बढाएर मोजमस्ती गर्ने चक्करमा रहेको हो की भन्ने प्रश्न उठेको छ । सहकारी सञ्चालक र बचतकर्ताहरूका समस्यालाई समाधान गर्नेतिर उनीहरूको ध्यान नै छैन ।
अझ रोचक कुरा त के छभने समितिका अध्यक्ष गौतमलाई सदस्य महर्जनले गोलचक्कर गराएर घुमाउने गरेको आरोप छ । समितिको कार्यालयमा गौतम र महर्जनबीच निकै लामालामा बैठक र सम्वाद हुने गरेका छन् । ती बैठक र सम्वादले अहिलेसम्म सिन्को पनि भाँच्न सकेको छैन ।
अध्यक्ष गौतमलाई सदस्य महर्जनले कुनै पनि काम गर्न नदिएको आरोप छ । अध्यक्ष गौतमले सदस्य महर्जनलाई संरक्षण गरेपछि महर्जनले समितिमा ठाडो हस्तक्षेप गर्दै आएको आरोप छ ।
माओवादी केन्द्रको सिफारिसमा बिगतमा समितिको सदस्य बनेकी महर्जनलाई अध्यक्ष गौतमको सिफारिसमा भूमि व्यवस्था तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले दोस्रो पटक नियुक्त गरेका थिए । मन्त्री अधिकारी तिनै व्यक्ति हुन् पोखराको जग्गाको घूस प्रकरणमा मुछिएका छन् । विवादित छविका मन्त्री अधिकारीले नै महर्जनलाई पनि संरक्षण गरेपछि अन्य सदस्यहरू चिन्तित बनेका छन् ।
सदस्य महर्जनले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हाम्रो कृषि सहकारी संस्था लिमिटेडसहित चार वटा सहकारीको समस्या समाधान गर्नुपर्ने दायित्व छ । त्यो दायित्वलाई महर्जनले पूरा गर्न सकेकी छैनिन् ।
कतिसम्म भने विज्ञ सदस्य महेशप्रसाद काफ्लेको जिम्मेवारीलाई समेत सदस्य महर्जनले हाइज्याक गरिदिएकी छिन् । काफ्लेले आफ्नो जिम्मेवारी अनुसार कार्यसम्पादन गर्न सकिरहेका छैनन् ।
समितिका सदस्यहरू उद्धवप्रसाद तिमल्सिना, काशीचन्द्र बराल, ध्रुव आचार्य, महेशप्रसाद काफ्ले र सदस्य सचिव केशवप्रसाद पौडेल पनि सदस्य महर्जनको गतिविधिबाट आजित बनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया