कांग्रेसका सबै कार्यालयहरू धुम्रपान र सूर्तीजन्य पदार्थ मुक्त क्षेत्र घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी कार्यालयहरू धुम्रपान र सूर्तीजन्य पदार्थ मुक्त क्षेत्र रहने घोषणा गरेका छन् ।

मंगलबार पार्टी कार्यालय, सानेपा, ललितपुरमा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आयोजित कार्यक्रमा सभापति देउवाले कांग्रेसका पार्टी कार्यालयहरूलाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त घोषणा गरेका हुन् ।

‘राष्ट्रिय एकता तथा मेलमिलाप नीतिका प्रणेता एवं युगपुरुष वीपी कोइरालाको ४३औँ स्मृति दिवसको यस दिनदेखि लागू हुने गरी नेपाली कांग्रेस केन्द्रीय कार्यालय, संघीय र प्रदेशका संसदीय दलको कार्यालयहरू, प्रदेश कार्यालयहरू, जिल्ला कार्यालयहरू, प्रतिनिधि सभा क्षेत्रीय कार्यालयहरू, प्रदेश सभा क्षेत्रीय कार्यालयहरू, पार्टीको स्थानीय तहका कार्यालयहरू, पार्टीका सबै वडा कार्यालयहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका कार्यालयहरू र विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालयहरू धुम्रपान र सूर्तिजन्य पदार्थ मुक्त क्षेत्र रहने घोषणा गर्दछु,’ सभापति देउवाले भने ।

सम्वत् २०३९ साल श्रावण ६ गते जननायक वीपी कोइरालाको स्वर्गारोहण भएको दिनलाई नेपाली कांग्रेसले हरेक वर्ष वीपी स्मृति दिवसका रूपमा विविध रचनात्मक कार्यक्रमहरू गर्दै मनाउँदै आएको छ ।

‘राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि वीपीले पुर्‍याएको अतुलनीय योगदान नेपाली राजनीतिक ईतिहाँसमा सदा अजर र अमर छ,’ देउवाले भने ।

जननायक वीपी कोइरालाको निधन घाँटीको क्यान्सरका कारण भएको थियो । क्यान्सर जस्ता घातक रोगहरू प्रायः मादक पदार्थ, सूर्तीजन्य वस्तु तथा लागू पदार्थहरूको सेवनबाट उत्पन्न हुने गरेका छन् ।

‘त्यसैले, यो ऐतिहासिक दिनको अवसरमा हामी सम्पूर्ण नागरिकहरूलाई स्वास्थ्य, वातावरण र जलवायु परिवर्तनप्रति सचेत रहन तथा यस्ता हानिकारक पदार्थहरूको प्रयोगबाट बच्न र समाजमा सचेतना फैलाउन आह्वान गर्दछौं,’ सभापति देउवाले भने ।

Published : Tuesday, 2025 July 22, 6:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया