स्थायी कमिटीमा मनोनयन गर्न भण्डारीद्वारा ओलीलाई दवाव, मदन भण्डारीबारे विवादित अभिव्यक्ति
काठमाडौं । एमालेकी नेतृ एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेभित्र भूमिका खोजेकी छिन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर भण्डारीले आफ्नो भूमिकाको बारेमा केन्द्रीय कमिटीले निर्णय गर्नुपर्ने बताइन् । उनले आफूलाई के पद दिने हो दिन माग गरेकी छिन् ।
भण्डारीले एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गरेर एमालेभित्र आफूलाई निषेध नगर्न सचेत गराएकी छिन् । उनले केन्द्रीय कमिटी, पोलिट ब्यूरो र स्थायी कमिटीमा मनोनयन गर्नुपर्ने माग पनि गरेकी छिन् । भण्डारीले आफूलाई खुलेर ओलीको विरोधमा उभ्याउँदै समानान्तर रुपमा एमालेमा गुटको राजनीति गरेको संकेत गरेकी छिन् । पत्रकार सम्मेलनमा भण्डारीले बसेरै सम्बोधन गरेकी थिइन् । तत्कालीन राष्ट्रपतिको शैलीमा प्रस्तुत भएकी भण्डारीले आफ्नो अंगरक्षक नेपाली सेनालाई राखेकी थिइन् ।
उनले भनिन्, ‘मैले एमालेको सदस्यता नवीकरण गरेको छु । अब एमालेको पार्टी परिवारमा म जोडिएको छु । यहीबाट सक्रिय भएर देशको सेवा गर्ने भन्ने कुरा मैले स्पष्ट राखेको छु ।’
‘पार्टीभित्रको कुन संरचनामा कुन भूमिका हुने भन्ने कुरा पार्टीको माथिल्लो तहको नेतृत्वले अहिले महाधिवेशन नहुनेञ्जेल केन्द्रीय कमिटी नै महाधिवेशन अगाडि सर्वोच्च अंग हुन्छ । केन्द्रीय कमिटीले के निर्णय गर्छ, कस्तो जिम्मेवारी दिन्छ, त्यसमा भर पर्छ भन्ने कुरामा पछि थप जानकारी गराउन चाहन्छु,’ भण्डारीले भनिन् ।
‘पार्टी भनेको दर्शन, सिद्धान्त, बिचार, नीति र कार्यक्रमले चलेको पार्टी हो । त्यसलाई राम्रोसँग संस्थागत ढंगले अगाडि बढाउनुपर्छ,’ उनले भनिन्, ‘कहिले काही व्यक्तिहरूको अभाव हुन सक्छ । हामीसँग थुप्रै योग्य व्यक्तिहरू हुनुहुन्छ भन्ने आशा राखेर नै अगाडि बढ्नुपर्छ भन्ने जानकारी गराउन चाहन्छु ।’
पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘जनताको बहुदलीय जनवादको बिजारोपण त्यसको सूत्रीकरण त्यसलाई एउटा सिद्धान्तको रुपमा अगाडि बढाउने कुरामा मदन भण्डारीले जसरी गर्नुभयो, लागू गर्न पाउनु भएन । उहाँको असामयिक निधन भयो । रहस्यमय निधन भयो । नेपाली समाजमा अनुत्तरित प्रश्न भएर गएको छ ।’
मदन भण्डारीको रहस्यमयी निधन भनेकी भण्डारी राष्ट्रपति भइन् । उनकै पार्टीको नेतृत्वमा पटक पटक सरकार बन्यो । अहिले पनि सरकारको नेतृत्व एमालेले गरेको छ । मदन भण्डारीबारे अनुसन्धान गर्न कसले रोकेको छ ? पदमा रहँदा चुइक्क नबोल्ने, कुर्सी फत्किएपछि रहस्यमयी भन्ने पूर्वराष्ट्रपति भण्डारीको अभिव्यक्ति विवादित छ ।
‘विधान महाधिवेशनमा भाग लिने कुरा छ । विधान महाधिवेशनमा भाग लिने विषय सिद्धान्त र विधानअनुसार ९औँ महाधिवेशनका प्रतिनिधिहरूले नै भाग लिने हो,’ उनले भनिन् ।
‘त्यसमा कतिपय प्रतिनिधि थपिएका छन् । केन्द्रीय कमिटीमा पनि सदस्यहरू मनोनीत हुनुभएको छ । उहाँहरू १०औँ महाधिवेशनका प्रतिनिधि हुनुहुन्थ्यो की हुनुहुन्थेन ? पार्टीले त्यसलाई छलफल गर्ला नै,’ एमाले नेतृ भण्डारीले भनेकी छिन् ।
भण्डारीले भनिन्, ‘जिल्लाका प्रतिनिधिहरू धेरैले भाग लिनुभएको छ । जिल्ला अधिवेशनहरू भएका छन् । जिल्ला अधिवेशनमा अहिले आउने नेतृत्व हिजो १०औँ महाधिवेशनका प्रतिनिधि थिएकी थिएनन् ? त्यसमा पनि पार्टीले छलफल गर्छ होला । केन्द्रीय कमिटीले त्यसमा निर्णय गर्छ होला ।’
पूर्वराष्ट्रपति भण्डारीले एमालेको विधान महाधिवेशनमा आफूलाई कुन भूमिकामार्फत सहभागी गराउने हो प्रतिक्षा गरेको बताइन् । उनले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीको निर्णयको प्रतिक्षा गरेको बताएकी छिन् ।
‘मेरो उपस्थिति उहाँहरूले कसरी गराउनु हुन्छ ? केन्द्रीय कमिटीमा भर पर्ने कुरा हो । उहाँहरूले मलाई केन्द्रीय प्रतिनिधिको रुपमा वा आमन्त्रित सदस्यको रुपमा कसरी गराउनु हुन्छ त्यसमा मेरा यही गर्नुपर्छ भन्ने छैन,’ उनले भनिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया