पावरफुल घुमुवासँग एसपीहरू डरले हायलकायल, हेडक्वाटर र गृहसम्म पुग्यो उजुरी

कृष्ण यादव

वीरगञ्ज । मधेश प्रदेशका जिल्लाहरूमा तस्करी मौलाएको, शान्ति सुरक्षाको अवस्था कमजोर भएको भनेर आरोप लागिरहेका बेला घुमुवाहरूले धेरैलाई तनाब दिएको आरोप लागेको छ ।

प्रहरीका घुमुवाहरूले सिरहा, धनुषा, महोत्तरी, सप्तरी लगायतका जिल्ला तथा नाकाहरूमा तनाब सिर्जना गरेको पीडितहरूले गुनासो गरेका छन् । घुमुवाहरूले आर्थिक आतंक मच्चाएको आरोप पनि छ । मधेश प्रदेशमा घुमुवाहरूको आतंकका विषयमा गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका आईजीपी दीपक थापासम्म मौखिक गुनासो पुगेको स्रोतले जनाएको छ ।

घुमुवाको रुपमा रहेका प्रहरी वरिष्ठ हवल्दार महेन्द्र महतोले सबैभन्दा धेरै तनाब सिर्जना गरेको आरोप छ । महेन्द्रले नै घुमुवाहरूको नेतृत्वको जिम्मेवारी लिएको उजुरी प्रहरी हेडक्वाटर नक्सालसम्म पुगेको छ ।

प्रहरी वरिष्ठ हवल्दार महतोको दरबन्दी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) काठमाडौंमा छ । महेन्द्रले पावर लगाएर मधेश प्रदेशमा काज गराएका छन् । महेन्द्रको पावर देखेर मधेश प्रदेशका जिल्ला ईञ्जार्चहरूको समेत सातोपुत्लो उडेको चर्चा छ ।

घुमुवाका रुपमा रहेका प्रहरी हवल्दारद्वय मोतीलाल पटेल र उमेश महरा चमारको पनि मौखिक उजुरी हेडक्वाटरसम्म पुगेको छ । उनीहरूको उजुरीका विषयमा आईजीपी थापाले के भएको हो भनेर सम्बन्धित विभागमा बुझ्न आदेश दिएको स्रोतले जनाएको छ ।

मधेश प्रदेशका जिल्लाहरूमा पछिल्लो समय लत्ताकपडा, चिनी, मल, केराउ, लागूऔषध, पाउडर दूध, काजु, कवाड जस्ता सामाग्रहीहरू तस्कर भइरहेको आरोप छ । मधेश प्रदेशका नाकाहरूबाट बाहिरिएका करछलीका सामग्रीहरू मकवानपुर लगायतका जिल्लाका प्रहरीले नियन्त्रणमा लिएका घटनाले पनि मधेश प्रदेशका जिल्लाहरूमा तस्करी मौलाएको देखाएको चर्चा छ ।

धनुषाको जटही, खजुरी, मैनाथपुर, दुहबी, सिरहाका माडर, भगवानपुर, कल्याणपुर, सप्तरी र महोत्तरीको विभिन्न नाकाहरू निकै बदनाम भएका छन् ।

यसअघि, घुमुवाको रुपमा प्रहरी निरीक्षक (ईन्स्पेक्टर) कृष्णदेव साहलाई दिएपनि अहिले प्रहरी निरीक्षक बिक्रम साहले घुमुवा हेर्ने जिम्मेवारी पाएको स्रोतले जनाएको छ ।

Published : Sunday, 2025 July 6, 3:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया