संविधान समावेशी छ, समस्या पनि छ, कुनै पार्टीको पनि बहुमत आउन सक्दैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बनाउन कुनैन कुनै राजनीतिक दलसँग मिल्नै पर्ने बाध्यता रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले अहिलेको निर्वाचन प्रणालीअनुसार कसैको पनि बहुमत आउन गाह्रो रहेको बताए ।

उनले बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा हुने कुरा स्वाभाविक भएको पनि बताए । सबै मिलेर सरकार बनाउनु राम्रो कुरा पनि भएको सभापति देउवाले बताएका छन् ।

उनले भने, ‘हाम्रो देशमा यो बहुदलीय व्यवस्थामा कम्पिटिसन हुने कुरा स्वाभाविक हो । अरू उतारचढाव हुने स्वाभाविक हो । तै पनि अहिले हामीले हेरिरहेका छौँ, हाम्रो देश अघि बढेको छ ।’

‘अहिलेको राजनीतिक प्रणाली मात्रै होइन, समावेशी राजनीति छ,’ देउवाले भने, ‘महिला, दलित, जनजाति सबैको प्रतिनिधित्व भएको व्यवस्था छ । त्यस मानेमा यो समावेशी संविधान बनाएका छौँ । समावेशी व्यवस्था छ ।’

‘एउटा समस्या पनि छ । यसमा कसैको पनि बहुमत आउन सक्दैन । कुनै पार्टीको पनि बहुमत आउन सक्दैन,’ सभापति देउवाले भने, ‘कुनै पार्टीको पनि बहुमत आउन गाह्रो छ । बहुमत ल्याउनै पर्छ सरकार बनाउन त । त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने बाध्यता र आवश्यकता छ । नमिले हुँदै हुँदैन, बाध्यतै हो यो । राम्रो कुरा पनि हो यो ।’

‘कमसेकम सबै मिलेर काम गर्नु राम्रो पनि छ । मन परेको होस्, मन नपरेको होस् त्यस्तै छ । के गर्नुहुन्छ, काम गर्नुपर्ने छ,’ सभापति देउवाले भने ।

Published : Saturday, 2025 July 5, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया