गिरिजाबाबु धेरै लडाकु व्यक्ति हो, उहाँ नभएको भए गणतन्त्र आउने थिएन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न स्व.गिरिजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा ‘जय नेपाल इन्टरनेसनल फाउण्डेसन’ले स्व.कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व.गिरिजाप्रसाद कोइरालाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले अहिले मुलुक गणतन्त्रलाई सुदृढीकरण गर्दै आर्थिक सामाजिक रुपान्तरणको यात्रामा अघि बढिरहेको बताए ।

‘गिरिजाबाबु नभएको भए मुलुकमा अहिल्यै गणतन्त्र आउने थिएन, गणतन्त्र ल्याउन उहाँले हिम्मत गर्नुभयो, जनमत सिर्जना गर्नुभयो’, देउवाले भने, ‘अहिले केही समस्या छन्, तिनलाई समाधान गर्दै लैजानुपर्छ ।’

सभापति देउवाले समावेशी राजनीतिक प्रणालीले सबै वर्ग, क्षेत्र र समुदायको राज्य संयन्त्रमा प्रतिनिधित्व सुनिश्चित गरेको बताए । उनले मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाएर जनतालाई त्यसको लाभ दिलाउन सबै दल क्रियाशील हुनुपर्ने बताए ।

देउवाले स्व.गिरिजाप्रसाद कोइराला लडाकु व्यक्ति भएको स्मरण गर्दै गिरिजाप्रसाद कोइराला नभएको भए गणतन्त्र ल्याउन कसैले पनि सोँच्न नसक्ने स्थिति रहेको बताए ।

गणतन्त्र ल्याउने पहिलो श्रेय गिरिजाप्रसाद कोइरालालाई जाने सभापति देउवाले बताए । ‘गिरिजाबाबु धेरै लडाकु व्यक्ति हो । उहाँ नभएको भए आज गणतन्त्र आउने थिएन,’ देउवाले भने, ‘त्यस्तो आँटिलो व्यक्ति हो । हिम्मतिलो व्यक्ति हो । गणतन्त्र ल्याउन भनेर सोच्नै सक्दैन थिए ।’

‘उहाँले हिम्मत गर्नुभएकै हो । अरू पार्टीसँग सरसल्लाह गरेर, पहिलो संविधान सभाबाट संविधान बनेन तर, गणतन्त्र पहिलो संविधान सभाको पहिलो दिनमै पास भयो,’ देउवाले भने, ‘गणतन्त्र ल्याउने सच्चा मानेमा भन्ने हो भने गिरिजाप्रसादलाई जान्छ श्रेय । उहाँले गणतन्त्र ल्याउनुभएको हो ।’

सभापति देउवाले गिरिजाप्रसाद कोइराला र आफूबीचमा झगडा पनि भएको र पार्टीबाट आफूलाई निकालेपछि नयाँ पार्टी खोलेको पनि बताए ।

सभापति देउवाले भने, ‘स्व.गिरिजाबाबु र मेरो बीचमा झगडा पनि भएकै हो । सबैलाई थाहा छ । उहाँले पार्टीबाट निकालिदिनु भयो । मैले अर्को पार्टी खोलेँ फेरि । त्यस कारण अनि मैले एक पटक के भनेको थिएँ भने राजाले मलाई खोस्यो, अनि मैले गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भनेको थिएँ ।’

‘एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो भनेर त्यस्तो हाम्रो सम्बन्ध हो । राजाले शाही आयोग गठन गरेर मलाई जेल हाल्यो,’ देउवाले भने, ‘शाही आयोग मान्दै मान्दिन भनेर मैले भनेँ । मुद्दा हाले पनि सर्वोच्चबाट जितिहालेँ म । थुनेपछि भेट्न आउनुभएको थियो, गिरिजाबाबु । पार्टीमा एक भएर काम गर्‍यौँ ।’

कार्यक्रममा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, केन्द्रीय सदस्यहरू गोविन्द भट्टराई, सरिता प्रसाईं, शेखर कोइराला, आङगेलु शेर्पा, नानु बास्तोला, युवा तथा खेलकुदमन्त्री एवम् केन्द्रीय सदस्य तेजुलाल चौधरी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2025 July 5, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया