पोखरा १५ अर्ब भ्रष्टाचारमा कारबाही सिफारिस बाबुरामलाई मालदार २ विभागको एकैपटक जिम्मेवारी, प्रदीपको ठूलो खेतीपाती शुरू

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको झण्डै १५ अर्ब भ्रष्टाचारमा निलम्बन गरि कारबाही गर्न सिफारिस भएका ई.बाबुराम पौडेलले दुई वटा झन् आकर्षक जिम्मेवारी हत्याएर सबैलाई चकित तुल्याइदिएका छन् ।
पोखरा विमानस्थल भ्रष्टाचारका मुख्य नाइके भनेर कारबाही सिफारिसमा परेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफूसँगै भ्रष्टाचारमा मुछिएका बाबुरामलाई एरोड्रोम ईञ्जिनियरिङ विभाग र कर्पोरेट निर्देशनालयको निमित्त प्रमुख दिएका हुन् । बाबुराम ११ तहमा कार्यरत छन् । ईञ्जिनियर भएता पनि बाबुरामको हाल बहाल रहेको सेवाकृत नहुने पदमा रहेको छ । बाबुरामको दरबन्दी नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान, सानोठिमी, भक्तपुरमा छ ।
११ तहका निर्देशक हरि अधिकारीको बहाल रहने पद भनेको एरोड्रोम ईञ्जिनियरिङ विभागको प्रमुख हो । महानिर्देशक अधिकारीको चाकडी नगरेपछि हरि अधिकारीको सो पद खोसेर आफूसँगै भ्रष्टाचारमा कारबाही सिफारिस भएका विवादित बाबुरामलाई एरोड्रो विभागको जिम्मेवारी दिएको उच्च स्रोतले जनाएको छ ।
महानिर्देशक अधिकारीले बाबुरामलाई कर्पोरेट निर्देशनालयको निमित्त प्रमुख पनि दिएका छन् । यो पदमा १२ तहको उपमहानिर्देशक बहाल रहनुपर्ने पद हो । १२ तह हुने सो पदमा अधिकारीले ११ तहका बाबुरामलाई निमित्त प्रमुख बनाएर दुई÷दुई वटा पद भिडाएपछि प्राधिकरणभित्र खैलाबैला भएको छ । जबकि यो पदमा निमित्त दिँदा समेत ११ तहको वरिष्ठ निर्देशकलाई दिनुपर्ने हुन्छ ।
२०८१ पुस ५ गतेदेखि १२ तहको एक पद रिक्त छ । यो पद रिक्त हुनुको कारण तत्कालीन उपमहानिर्देशक नवीना कर्माचार्य अवकासमा गएपछि खाली भएको हो ।

रोचक प्रशङ्ग के छभने महानिर्देशक अधिकारी ११ तहका हुन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई प्रभावमा पारेर १२ तहमा ६ जना वरिष्ठतम् उपमहानिर्देशक हुँदाहुँदै र ११ तहमा पनि आधा दर्जन निर्देशकहरू वरिष्ठतम् रहँदा समेत उछिनेर अधिकारीले महानिर्देशक पद हत्याएका थिए ।
अधिकारी महानिर्देशक भएपछि उनको पद पुलमा गइसकेको छ । अधिकारीको पदमा अर्को अधिकृतको समेत बढुवा भइ बहाल रहेको छ ।
अधिकारीले महानिर्देशक पदको कार्यसम्पादन मूल्याङ्कन देखाएर आफै उपमहानिर्देशक पद (१२ तह)मा बढुवा हुन चलखेल गरेका कारण हालसम्म उक्त पदमा पदपूर्ति हुन सकेको छैन । विवादित अधिकारी आफू सो पदमा बढुवा हुन नसकेपछि अरुलाई पनि बढुवा हुन नदिने ‘अपराधिक’ खेलमा लागेको भनेर प्राधिकरणभित्र चर्चा छ । महानिर्देशक अधिकारीले हरेक पटक बस्ने सञ्चालक समिति (बोर्ड)को बैठकमा नियम विपरित आफूलाई बढुवा गर्नुपर्ने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई दवाव दिँदै आएका छन् ।
बढुवा हुन महानिर्देशक अधिकारीले ११ तहको १ वर्षको कार्यसम्पादन मूल्याङ्कनमा महानिर्देशक पदको ३ वर्षको कार्यसम्पादन मूल्याङ्कन जोडेर ११ बाट १२ तहमा उक्लिन जोडजुलुम गरेका छन् । जबकि नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी सेवा सर्त सुविधासम्बन्धी नियमावली, २०५६ अनुसार मिल्दैन । ऐनले नमिल्ने कुरामा अधिकारीले मन्त्री पाण्डेलाई बारम्बार प्रलोभन र दवाव दिएर फसाउन खोजेका छन् ।
मन्त्री पाण्डेले महानिर्देशक अधिकारीलाई ऐन, कानूनले नमिल्ने गरि बढुवा गरेमा अख्तियारको दुरुपयोग हुनेछ । त्यसपछि वरिष्ठतम् कर्मचारीहरू सो निर्णयविरुद्ध अख्तियार र अदालतमा जाने पक्का छ । महानिर्देशक अधिकारीको प्रलोभन र दवावमा परेर मन्त्री पाण्डेले बढुवा गरेर आफैलाई फसाउँछन् वा बचाउँछन् समयले देखाउँदै जानेछ ।
महानिर्देशक अधिकारीको कार्यकाल २०८२ माघको १६ गते सकिँदैछ । प्रचलित नियमानुसार महानिर्देशकलाई उपमहानिर्देशक पदमा बढुवा गर्ने परिकल्पना नै कानूनले कहिँकतै गरेको छैन ।
यता, महानिर्देशक अधिकारीले बाबुरामलाई दिएको एरोड्रोम विभाग भनेको देशभरिका विमानस्थलहरूको निर्माण, मर्मत सम्भार लगायतका ठूला ठेक्कापट्टा लगाउने र प्राधिकरणको कुल बजेटको ८० प्रतिशत खर्च गर्ने मालदार अड्डाका रुपमा प्राधिकरणमा परिचित छ ।
बिगतमा हालका महानिर्देशक अधिकारी राष्ट्रिय गौरव आयोजनाका साथै एरोड्रोम विभागको प्रमुख समेत रहेर अनियमितता, भ्रष्टाचारको बितण्डा मच्चाउँदा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग चक्कर काटिरहेका छन् । अधिकारीविरुद्ध अधिकारीले सो विभागमा रहेर गरेका अधिकांश ठेक्कापट्टमा अनियमितता, सेटिङ भएको भन्दै अख्तियारमा दर्जनौं उजुरहरू पनि परेका छन् ।
एरोड्रोम विभाग मालदार अड्डाका रुपमा कहलिएको हुँदा लुट, भ्रष्टाचार, अनियमितताको धन्दा गर्नका लागि महानिर्देशक अधिकारीले आफ्ना कृपालुपात्र बाबुरामलाई बहाल नै नरहेको पदमा जिम्मेवारी दिएर कानूनको धज्जी उडाएको प्राधिकरणका एकजना वरिष्ठ ईञ्जिनियरले बताएका छन् ।
कर्पोरेट निर्देशनालय र एरोड्रोम विभाग समेतको जिम्मेवारी दिएर बाबुरामलाई दोहोरोे जिम्मेवारी दिएकोमा प्राधिकरणभित्र व्यापक विरोध र असन्तुष्टि बढेको कर्मचारीहरूले बताएका छन् । कर्पोरेट निर्देशनालयको काम भनेको प्राधिकरणभित्रको आर्थिक प्रशासन, बजेट निर्माण लगायतका आर्थिक नीति योजनासँग सम्बन्धित निर्देशनालय हो । एरोड्रोम विभाग भनेको कर्पोरेटले दिएको नीतिअनुसार बजेट कार्यान्वयन गर्ने विभागमा पर्छ । यसमा स्वार्थको द्वन्द्वको प्रश्न टड्कारो रुपमा उठेको छ । एउटै व्यक्ति आफै नीति, बजेट बनाउने र कार्यान्वयन गर्ने दुबै ठाउँको जिम्मेवारीमा रहँदा बाबुराम आफै धामीझाँक्री बनेका छन् ।

महानिर्देशक अधिकारीले आर्थिक वर्ष २०८२/८३ को बजेट बनाउँदा आफ्नो हालीमुहाली गर्न, मनोमानी गर्न बाबुरामलाई यी दुई आकर्षक पदमा नियम विपरित स्वार्थको द्वन्द्व हुने गरि जोडजबरजस्ती जिम्मेवारी दिएको आरोप छ ।
महानिर्देशक अधिकारीले बाबुरामलाई पोखरा भ्रष्टाचारसँग जोडिएको कर छुट, चिनियाँ ठेकेदार कम्पनीको भुक्तानी लगायतसँग सम्बन्धित बजेट निर्माणका लागि कर्पोरेट विभागको जिम्मेवारी दिइएको आरोप छ ।
महानिर्देशक अधिकारीको मनोमानी, कानून विपरितका कार्यमा कर्मचारीहरूले आवाज उठाउँदा कार्यसम्पदन मूल्याङ्कनमा अंक घटाउने, सरुवा गरिदिने, वैदेशिक मनोनयन नगर्ने, तालिम लगायतको अवसरबाट बञ्चित गर्ने, आफ्नो कार्यकक्षमा बोलाएर अपशब्द बोल्ने, विभिन्न कारबाहीको धम्की दिने कार्य गर्ने गरेको आरोप छ ।
विज्ञ समेत रहेका ई.हरि अधिकारीलाई जिम्मेवारी नदिएर थन्काएर राखिएको छ । कारबाही सिफारिस भएका बाबुरामलाई दुई/दुई वटा आकर्षक पद दिएर अधिकारीले पुरस्कृति गरेका छन् ।
महानिर्देशक अधिकारीले एमालेका नेता समेत रहेका पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उक्साहटमा लागेर प्राधिकरणमा बेथिति गर्दै आएको आरोप छ । अधिकारीले यसरी नियम, कानूनलाई बेवास्ता गरेर प्राधिकरणभित्र एउटै व्यक्तिलाई दुई/दुई वटा जिम्मेवारी दिँदा समेत मन्त्री पाण्डे निरिह बनेर बसेको भन्दै कर्मचारीहरू रुष्ट बनेका छन् । मन्त्री पाण्डेलाई बेवास्ता गर्दै अधिकारीले एमाले नेता भट्टराईको खटनपटनमा प्राधिकरण चलाउँदा प्राधिकरण धरासायी हुँदै गएको भन्दै कर्मचारीहरू चिन्तित छन् ।
यसअघि, सार्वजनिक लेखा समितिले पोखरा विमानस्थलको झण्डै १५ अर्ब भ्रष्टाचार प्रकरणमा महानिर्देशक अधिकारीलाई प्रमुख नाइकेको रुपमा निलम्बन गरि कारबाही गर्न सरकार, अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई सिफारिस गरिसकेको छ । कारबाहीको यो सूचीमा महानिर्देशक अधिकारीसँगै निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, प्रबन्धक विनेश मुनाकर्मी, पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेल रहेका छन् । यो समूहलाई कारबाही गर्नुपर्ने बेला झन् आकर्षक पद त्यो पनि दुई/दुई वटा दिँदा समेत राज्यका निकायहरू निरिह बनेर बसेका छन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया