दर्ता नै नभएको युट्युबमा भ्रामक सामग्री हालेर चरित्रहत्या गर्ने पाठकसँग २५ हजार धरौटी माग

काठमाडौं । साइबर अपराध गरेको अभियोग लागेका दिलभूषण पाठकसँग काठमाडौं जिल्ला अदालतले २५ हजार धरौटी माग गरेको छ ।

बिहीबार न्यायाधीश खेमराज भट्टको इजलासले पाठकसँग २५ हजार धरौटी माग गरेको हो ।

दर्ता नै नभएको युट्युब मार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो ।

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई हिल्टन होटल खरिद गरेको भनेर भ्रामक र फेक श्रब्य दृष्य बनाएर हालेपछि पीडित पक्षबाट नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीमा निवेदन दर्ता भएको थियो । पीडित पक्षले पहिला प्रेस काउन्सिल नेपालमा निवेदन दिएको थियो । प्रेस काउन्सिलमा पाठकको युट्युब दर्ता नै नभएको पाइएपछि पीडित पक्षले साइबर ब्यूरोमा साइबर अपराधमा कारबाहीको माग गरेर निवेदन दिएका थिए ।

पत्रकार हुँ भन्ने पाठकले ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युबमा भ्रामक सामाग्री हालेका हुन् । पाठकविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा पक्राउ पुर्जी जारी भएको थियो । पाठक पक्राउविरुद्ध उच्च अदालत पाटन पुगेका थिए ।

उच्च अदालत पाटनले असार ५ गते कानून विपरित पक्राउ नगर्न भनेको थियो । पाठकविरुद्ध असार १६ गते पाठकविरूद्ध साइबर अपराधको मुद्दा दर्ता भएको थियो । पाठकलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।

Published : Thursday, 2025 July 3, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया