कांग्रेसद्वारा तरुण दलबारे विशेष निर्णय, खड्का र थापाको प्रतिवेदनमा टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश सभापतिहरूसहितका केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको कार्यसमिति बैठकमा उपसभाति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाको प्रतिवेदनहरूमा टिप्पणी गरेका हुन् ।

कांग्रेस बैठकले नेपाल तरूण दलको महाधिवेशन निर्देशन समितिको प्रस्ताव अनुरुप २०८२ मंसिर २६—२८ मा अनिवार्य सम्पन्न गर्ने गरी त्यही मितिसम्मका लागि केन्द्रीय समितिको पदावधि थप गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महाधिवेशन तयारी र व्यवस्थापन सहजीकरणका लागि नेपाल तरूण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको कांग्रेसले जनाएको छ ।

बुधबारको बैठकमा केन्द्रीय सदस्यहरू श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाइँ, कर्णबहादुर बुढा, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार के.सी., ई.मोहन आचार्य, रंगमती शाही, कान्तिका सेजुवाल, विद्यादेवी तिमिल्सिना, आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), ईन्द्रबहादुर बानियाँ (बागमती), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम)ले आ–आफ्नो धारणा राखेका छन् ।

विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको छ । कार्यसमितिको बैठक असार १९ गते बिहीबार दिउँसो १२ः३० मा पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार १६ देखि शुरु भएको हो ।

Published : Wednesday, 2025 July 2, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया