मेरो नैतिकताको कुरा आयो, कसैको निगाहले आएको होइन, चन्दा दिएर पनि आएको होइन : रामहरि खतिवडा

काठमाडौं । राज्य व्यवसस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफ्नो नैतिकता र प्रतिष्ठामा प्रश्न नउठाउन अनुरोध गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सम्बोधन गर्दै खतिवडाले भने, ‘मेरो नैतिकताको कुरा पनि आयो । मैले पनि राजनीतिमा कसैको निगाहले म यहाँ आएको होइन ।’

‘निर्वाचित भएरै आएको हुँ । एक पटक होइन । त्योभन्दा बढि पनि भएको हुँला,’ सभापति खतिवडाले भने, ‘मेरो बुबा शहीद भएर आएको पनि होइन । चन्दा दिएर पनि आएको होइन ।’

उनले भने, ‘म राजनीतिमा दुःख गरेर आएको हुँ । म क्यारम बोर्ड खेले जस्तो यहाँ ट्याङ्की खेले जस्तो त्यहाँ देखाएर यता छिराउने मान्छे पनि होइन ।’

‘निष्ठा र प्रतिष्ठा जे बोलेको थिएँ त्यसमा आज पनि दृढ छु,’ खतिवडाले भने, ‘कानून बनाउने काम गाह्रै हुन्छ ।’

‘म माथि आक्रमण प्रहार भएको छ । म हिजो, अस्तीदेखि देखिरहेको छु । सभापतिको, सभापतिको । भएका निर्णयहरू गलत ढङ्गले ब्याख्या गर्ने ? हामीलाई थाहा नदिइकन ? यो हुन सक्छ ? गम्भीर अपराध भएको छ । यो कुराको छानविन हुनुपर्छ,’ सभापति खतिवडाले भने ।

उनले भने, ‘हामीले अर्को कुरा पनि थप्यौँ । रघुजी पन्तले यो विधेयक लागू भएसकेपछि ३५ दिन पछाडि लागू हुने भन्ने शब्द राख्नु भयो । मैले मानिन । किन ३५ दिन भन्ने ? आर्थिक वर्षदेखि शुरु हुन्छ । लोकसेवामा जाँच दिने प्रक्रिया पनि छ । त्यो ३५ दिन पनि मैले हटाएको हुँ । कहिँ कहिँ यस्ता शब्द आएका थिए ।’

‘मेरो निष्ठामाथि, मेरो प्रतिष्ठा माथि, मेरो इमान्दारितामाथि प्रहार गर्ने काम सोसल मिडियादेखि मिडियामा सारामा भएको छ,’ सभापति खतिवडाले भने ।

उनले भने, ‘गाउँका जनता पनि जनता हुन् । हेरेका छन् । साँच्चदै बदमासी गरेको रहेछ क्या हो सभापतिले भन्ने भान भएको छ । त्यो क्लियर गर्न चाहन्छु ।’

समितिको बैठकमा सांसद सदस्यहरूले सभापति खतिवडामाथि कुलिङ अफ पिरियडका विषयमा विभिन्न आशंकाहरू गरेर नैतिकतामाथि प्रश्न उठाउने प्रयास गरेपछि सभापति खतिवडाले जवाफ दिएका हुन् ।

Published : Wednesday, 2025 July 2, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया