पोखरा १५ अर्ब भ्रष्टाचारकाे कारबाही सिफारिस भएका नाइकेको कोठामा एमालेका पूर्वमन्त्रीकाे रहस्यमयी वार्ता, मन्त्री पाण्डेकै सूचना बिक्री

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको झण्डै १५ अर्बको भ्रष्टाचार प्रकरणमा कारबाहीको पहिलो नम्बरमा सिफारिस भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र एमालेका नेता एवम् पूर्वमन्त्री योगेश भट्टराईबीच असारको पहिलो साता गोप्य भेटवार्ता भएको छ ।
असारको ७ गतेको आसपास पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका एमालेका सांसद भट्टराई सिनामंगलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा पुगेर झण्डै १० घण्टा विताएर फर्किएको सोही कार्यालयका एक उच्च अधिकृतले बताएका छन् । आफ्नो पदीय हैसियत र नैतिकता समेतलाई बेवास्ता गरेर पूर्वमन्त्री भट्टराई एउटा सहसचिवस्तरको कर्मचारीको कार्यकक्ष पुगेर दिनभरि बिताउँदा प्राधिकरणका कर्मचारीहरूले विभिन्न खालका आशंकाहरू गरेका छन् ।
महानिर्देशक अधिकारी र पूर्वमन्त्री भट्टराईबीच दैनिक सरह भेटघाट हुनुका साथै खानपिन, उठबस समेत बाक्लै हुने गरेका छन् । उनीहरूको यस्ता खालका भेटमा एमालेका सांसद एवम् लेखा समितिका सदस्य तारा लामाको पनि उपस्थिति हुने गरेको छ । अधिकारी र भट्टराईलाई बेलाबेला खाजा लगायतको व्यवस्था विवादित व्यवसायद्वय सुवास श्रेष्ठ र दीपक मल्होत्राले गरिदिने गरेको महानिर्देशक अधिकारीकै सचिवालयका एक कर्मचारीले बताएका छन् ।
एमाले नेता भट्टराई र अधिकारीबीच सिनामंगलमा भएको त्यो गोप्य बैठकपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलालाई असारको क्लोजिङमा चेक काट्ने बेला हटाएर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक बनाएर पठाइएको थियो । निरौला र अधिकारीबीच निकै घनिष्ट सम्बन्ध रहेको थियो । एकाएक निरौलालाई हटाएर पोखरा पठाएपछि अनेकौं प्रश्न प्राधिकरणभित्र उब्जिएको छ । स्रोतका अनुसार निरौलाले विवादित व्यवसायी सुवास श्रेष्ठले भनेअनुसारको काम नगरेको तथा ठूला ठेक्कापट्टाबाट कमिशन वापत उठाएको रकम महानिर्देशक अधिकारीलाई पूरै हिसाब नदेखाएको अभियोग लगाएर हटाएको हुन सक्ने चर्चा प्राधिकरणमा छ ।
स्रोतका अनुसार पूर्वमन्त्री भट्टराई र महानिर्देशक अधिकारीबीच गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको भ्रष्टाचार, घोटाला र जग्गा खरिद प्रकणमा कसरी जाने भन्ने विषयमा पनि केन्द्रित भएर छलफल भएको बुझिएको छ ।
सार्वजनिक लेखा समितिले कांग्रेसकी सांसद मञ्जु खाणको संयोजकत्वमा उपसमिति बनाएको छ । उपसमितिले कारबाहीको सिफारिससहितको प्रतिवेदन ल्याउने हो कि भनेर महानिर्देशक अधिकारी र पूर्वमन्त्री भट्टराई तनाबमा छन् । भैरहवाबाट मञ्जु खाणको उपसमितिले आफूहरूलाई सहयोग हुने गरि अनुकूलको प्रतिवेदन ल्याउन सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले निर्देशन दिइसकेको कुरामा पनि अधिकारी र भट्टराईबीच भएको बुझिएको छ । भैरहवा विमानस्थलको दक्षिणतर्फ भारतसँगको सिमानामा जोडिएको भैंसी चर्ने र खोलाको जग्गा खरिद गर्दा तत्कालीन मन्त्री भट्टराईले बजेट निकासा गर्ने निर्णय गरिदिएका थिए ।
पोखरा, भैरहवा लगायतका विमानस्थलबाट अर्बै रुपियाँ घोटाला गरि आएको रकमलाई चितवनको सौराहा, काठमाडौंका विभिन्न रिसोर्टहरू तथा घर जग्गामा संयुक्त रुपमा लगानी गरेको आशंका महानिर्देशक अधिकारी निकटका ठेकेदारहरूले बताएका छन् ।
भैरहवा विमानस्थलमा पनि जग्गा खरिदमा महानिर्देशक अधिकारीले झण्डै २५ अर्ब मुआब्जामा वितरण गरेको रकममध्ये झण्ड आधार रकम करीव १३ अर्ब घोटाला गरेको पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका लेखा समितिका सदस्य प्रेम आलेले सार्वजनिक रुपमा बताइसकेका छन् ।
मञ्जु खाण नेतृत्वको उपसमिति प्रलोभनमा नपरेर निष्पक्ष रुपले प्रतिवेदन बनायो भने भैरहवा विमानस्थलको जग्गा खरिद तथा मुआब्जा घोटालामा महानिर्देशक अधिकारी र पूर्वमन्त्री भट्टराई फस्ने सम्भावना छ । महानिर्देशक अधिकारीलाई भैरहवा विमानस्थलको भ्रष्टाचारबाट बचाउन एमाले नेता भट्टराईले जोडबल गरिरहेका छन् । पोखरा विमास्थलको १५ अर्ब भ्रष्टाचारमा बचाउन नसकेपछि भट्टराईले भैरहवामा भने बचाउने भनेर आश्वासन अधिकारीलाई दिइसकेका छन् ।
असारको पहिलो साता प्राधिकरणको कार्यालयमा अधिकारी र भट्टराईबीच भएको गोप्य छलफलमा पूर्वमन्त्री प्रेम आलेलाई धनगढी विमानस्थलको जग्गा प्रकरणसम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको फाइलमार्फत फसाउने गरेर योजना बनाइएको बुझिएको छ । अधिकारी र भट्टराईको डिजनाइनमा परेको सो मुद्दाका सम्बन्धमा अख्तियाले आलेविरुद्ध छाननिव शुरु गरिसकेको छ । महानिर्देशक अधिकारीले आफूविरुद्ध लाग्ने र बोल्ने व्यक्तिहरूलाई कुनैन कुनै मुद्दा लगाएर फसाउने हर्कत गर्दै आएका छन् । उनले ‘म उथलपुथल गर्न महानिर्देशक भएको हुँ, उथलपुथल गरेरै जान्छु’ भन्ने गरेका छन् ।
यता, महानिर्देशक अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेका कुनै पनि निर्देशन मान्दैनन् । बरु एमाले नेता भट्टराईको खटनपटन र सुझावअनुसार कार्य सम्पदन गर्दै आएका छन् । महानिर्देशक अधिकारीले मन्त्री पाण्डेको गोप्य सूचनाहरू आफूलाई मन्त्रीको प्रमुख स्वकीय सचिव बताउने तालबहादुर रावतमार्फत खरिद गर्ने गरेको स्रोतले जनाएको छ । त्यसको पुरस्कार रावतले महानिर्देशक अधिकारीसँग पटक पटक लिइसकेका छन् ।
रावत वैशाखको दोस्रो हप्ता परिवारका सदस्यहरूलाई मुस्ताङ घुमाउन लैजाने क्रममा काठमाडौंदेखि पोखरासम्मको टिकट महानिर्देशक अधिकारीको सचिवालयले व्यवस्था गरिदिएको स्रोतले जनाएको छ । पोखरादेखि मुस्ताङ जाने गाडी पनि महानिर्देशक अधिकारीले नै रावतलाई व्यवस्था गरिदिएको अधिकारीकै सचिवालयका एक सदस्यले बताएका छन् । मन्त्री पाण्डेलाई प्राधिकरणका कर्मचारीहरू भेट्न जाँदा त्यसको सूचना तत्काल महानिर्देशक अधिकारीलाई दिने गरेका छन् । अधिकारीको आदेशअनुसार मन्त्री पाण्डेसँग भेट्न समय पनि नदिने वा त्यस्तै गतिविधि गर्दै आएको आरोप रावतलाई लागेको छ । मन्त्री पाण्डेको सूचनाहरू रावतसँग पाएपछि महानिर्देशक अधिकारीले किन टेर्ने ? त्यही कारण मन्त्री पाण्डेले भन्दा पहिला नै अधिकारीले रणनैतिक रुपमा आफूलाई प्रस्तुत गराउँदै आएका छन् ।
यता, एमालेका नेता एवम् पूर्वमन्त्री भट्टराई हाल युरोप भ्रमणमा छन् । उनी किन युरोप गएका हुन् प्रश्न उब्जिएको छ । महानिर्देशक अधिकारी पनि असारको अन्तिम साता युरोप भ्रमणमा जान लागेका छन् । अब भट्टराई र अधिकारीको भेट युरोपमा हुनेछ । युरोपमा नै उनीहरूले योजना बनाउने तयारी गरेको बुझिएको छ ।
महानिर्देशक अधिकारीलाई पोखरा विमानस्थलको झण्डै १५ अर्ब भ्रष्टाचारको नाइकेका रुपमा प्रस्तुत गर्दै सार्वजनिक लेखा समितिले अख्तियारमा कारबाही सिफारिस गरिसकेको छ । यो सूचीमा निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक विनेश मुनाकर्मी, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, पूर्वमहानिर्देशक सञ्जीव गौतम र राजन पोखरेल रहेका छन् । उनीहरू सबै भ्रष्टाचारी भएको लेखा समितिको ठहर छ ।
लेखा समितिले अख्तियार, सम्पत्ति शुद्धीकरण, नेपाल सरकारलाई कारबाहीका लागि लेखेर पठाउँदा समेत महानिर्देशक अधिकारीसहितका व्यक्तिलाई कुनै कारबाही वा निलम्बन भएको छैन । बरु महानिर्देशक अधिरकारीले ‘हामीलाई कसैले कारबाही गर्न सक्दैन, सबैतिर सेटिङ मिलिसक्यो, अब म अख्तियार प्रमुख बनेर जाने हो’ भनेर हिँड्ने गरेको चर्चा प्राधिकरणमा छ । अधिकारीले आफू अख्तियार प्रमुख हुन नसकेमा पूर्वमुख्यसचिव शंकरदाश बैरागी वा पूर्वसचिव महेश्वर न्यौपानेलाई अख्तियार प्रमुख बनाउँछु भनेर गफ लगाउने गरेको चर्चा छ । बैरागी र न्यौपाने स्वयं पनि अख्तियारको छानविनमा परेका विवादित पूर्वकर्मचारीहरू हुन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया