कांग्रेसका पौने ९ लाख क्रियाशील सदस्यहरू, धेरैले नवीकरण गराएनन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्य संख्या ८ लाख ७० हजार ७८० रहेको बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा सोमबार बसेको कार्यसमितिको बैठकमा क्रियाशील सदस्यता सम्बन्धी प्रतिवेदन पेश गर्दै ८ लाख ७० हजार ७८० क्रियाशील सदस्यमध्ये १४औँ महाधिवेशनमा ४ लाख २३ हजार ४३४ नवीकरण भएको बताए । ४ लाख ४७ हजार ३४६ नयाँ सदस्यता लिएको उनले बताए । नेपाली जनसम्पर्क समितिबाट १९ हजार ५९२ क्रियाशील सदस्य रहेको प्रतिवेदनमा रहेको छ ।

कांग्रेसको नयाँ प्रावधान र महँगो शूल्कका कारण आधाभन्दा कमले मात्रै क्रियाशील सदस्यता नवीकरण गराएका हुन् । शुल्कको समस्या रहेको छ । गुटलाई जिताउन क्रियाशील अन्धाधुन्द वितरण गर्ने कार्यले पनि क्रियाशील सदस्यता नवीकरणमा समस्या आएको छ ।

क्रियाशील सदस्यता नवीकरणको फारम २०७९ चैत २२ गतेदेखि नै जिल्लामा पठाउन शुरू गरिएको छ । अहिलेसम्म ८ लाख ७० हजार ८८४ सदस्यता नवीकरण फारम पठाइसकिएको थापाको प्रतिवेदनमा उल्लेख छ ।

महामन्त्री थापाले जिल्लाबाट विवरण आउने क्रम जारी रहेको बताए । असार १२ गतेसम्म प्राप्त जानकारी भन्दै परिपत्र तोकिए बमोजिम नवीकरण विवरण प्रविष्ट गरेका–बुझाएका जिल्ला ५ रहेका छन् ।

सिष्टममा प्रविष्ट भइरहेका जिल्ला १५ रहेका छन् । निर्णय प्रक्रियामा रहेका जिल्लाहरू १० रहेका छन् ।

वडाबाट जिल्लामा नवीकरण फारम संकलन भइरहेका जिल्ला ३३ रहेका छन् । १४ जिल्लामा नवीकरण समस्या रहेको प्रतिवेदन महामन्त्री थापाको प्रतिवेदनमा उल्लेख छ ।

असार मसान्तसम्म प्रविष्ट गर्नका लागि भनिए पनि मोबाइल नम्बर अनिवार्य सहितको फारम बनाएर विवरण बुझाउन भनिएकाले केही समय लागेको महामन्त्री थापाले बैठकलाई जानकारी गराएका छन् ।

नयाँ क्रियाशील सदस्यता फारम दुई लाख १७ हजार १०१ (नवीकरण भएको सदस्य संख्याको २५ प्रतिशत) पठाइसकिएको उल्लेख छ ।

१७ जिल्लाले वडामा सदस्यता फारम बुझाएको जानकारी गराए पनि दोलखा बाहेक कुनै पनि जिल्लामा नयाँ क्रियाशील सदस्यता विवरण भएको जानकारी प्राप्त हुन नसकेको थापाले उल्लेख गरेका छन् ।

हाल नवीकरणमा ध्यान दिन र हाल नयाँ वितरण नगर्नका लागि सबै जिल्लालाई जानकारी गराइएकोसमेत उल्लेख गरिएको छ ।

नयाँ सदस्यता उपलब्ध गराउँदा जनसंख्या, मतसंख्या, क्लष्टर अनुसारको संख्या र सदस्यताको माग एवं आवश्यकता समेतलाई हेरी उपलब्ध गराउने गरी मापदण्ड बनाइ साउनपछि वितरण अभियान गरिनेसमेत महामन्त्री थापाले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

जनसम्पर्क समिति सदस्यताको व्यवस्या गरी सदस्यता फारम र वितरण प्रक्रिया अगाडि बढाइएको उनले उल्लेख गरेका छन् ।

Published : Tuesday, 2025 July 1, 9:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया