रास्वपाका अर्यालद्वारा सुमिरेबाट जापानसहितका देशमा भिजिट भिसामा मान्छेहरू पठाएको स्वीकार

काठमाडौं । भिजिट भिसा प्रकरणमा संसद अवरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति एवम् सांसद डोलप्रसाद अर्याल ‘डिपी’ले भिजिट भिसामा मान्छे पठाएको स्वीकार गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद अर्यालले भिजिट भिसामा मान्छे विदेश पठाउने सुमिरे टुर्स एण्ड ट्राभल्स आफ्नै कम्पनी रहेको बताए । उनले जापानसहितका विश्वका धेरै देशमा भिजिट भिसामा मान्छेहरू पठाएको बताए । आफूले भिजिट भिसामा विदेश पठाएका मान्छेहरू फर्किएर आएको दाबी पनि गरेका छन् ।

भिजिट भिसा प्रकरणमा रास्वपाले ३३ दिनदेखि संसद अबरोध गर्दै आएका बेला सोही दलका कार्यबाहक सभापति अर्यालको भिजिट भिसा काण्ड बाहिरिएको छ । अर्यालको भिजिट भिसा काण्डको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शनिबार बसेको प्रतिनिधि सभा बैठकमा खुलासा गरिदिएपछि रास्वपा आत्तिएको छ । भिजिट भिसा काण्डमा मुछिएका रास्वपाका कार्यबाहक सभापति अर्याल बरबराउन थालेका छन् । मर्यादा विपरितका अभिव्यक्ति दिन थालेका छन् ।

रास्वपाले संसदीय छानविन समिति वा उच्चस्तरीय छानविन आयोगको माग गरिरहेको छ । यो विषयलाई रास्वपाले अब के गर्छ प्रश्न उठेको छ ।

कार्यबाहक सभापति अर्यालले भने, ‘हो म गर्वका साथ भन्छु सुमिरे टुर्स एण्ड ट्राभल्स मेरो कम्पनी हो । म यहि देशमा केही गरेर खाने मान्छे हुँ ।’

‘मेरो कम्पनीमा मात्र एकजना मान्छे भिजिट भिसामा जापान होइन संसारको कुनै देश गएको छ हामीले पैसा लिएका छौँ र फर्किएका छैनन् भने प्रमाण पेश गर्न म चुनौती दिन्छु,’ कार्यबाहक सभापति अर्यालले भने ।

कार्यबाहक सभापति अर्यालको कुर्तुतहरू एकपछि अर्को गरेर प्रमाणहरूसहित सार्वजनिक हुन थालेपछि नाटकीय ढंगले रास्वपा तनाबमा परेको छ । रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा छन् । अब अर्का कार्यकाबाहक सभापति अर्यालको पनि मानव तस्करीसँग जोडिएर नाम आएपछि रास्वपालाई झट्का लागेको छ ।

वैदेशिक रोजगार व्यवसायी समेत रहेका रास्वपाका कार्यबाहक सभापति अर्यालले जापान, अष्ट्रेलिया लगायतका देशमा हुण्डीको कारोबार गर्दै आएको आरोप छ ।

Published : Sunday, 2025 June 29, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया