गृहमन्त्री लेखकको पहलमा नागरिकता विधेयक पास, अब आमाको नामबाट सन्तानले नागरिकता पाउने

काठमाडौं । गृहमन्त्री रमेश लेखकको विशेष पहल र सक्रियतामा शनिबार आमाको नामबाट सन्तानले नागरिकता पाउने व्यवस्थासहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभा बैठकबाट पारित भएको छ ।

शनिबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले पेस गरेको नेपाल नागरिकता दोस्रो संशोधन विधेयक बहुमतले पारित भएको छ । विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेपाली नागरिकलाई नागरिकताविहीन हुनुपर्ने अवस्था अब नरहने बताए ।

‘नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बताउन नयाँ विधेयक ल्याएको हो,’ उनले भने, ‘गैरआवासीय नागरिकलाई नागरिकता प्रदान गर्ने सम्बन्धमा छुट्टै कानुन बनाइनेछ ।’

नागरिक संवेदनशील विषय भएको बताउँदै लेखकले नेपालको नागरिकता पाउनुपर्ने मानिसले नागरिकता पाउनुपर्छ नहुने मानिसले नपाउनेमा कुनै दुविधान हुन नसक्ने बताए ।

‘नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकलाई नागरिक प्रदान गर्ने व्यवस्था गरेको छ,’ लेखकले भने, ‘त्यो वास्तवमा नागरिकता नै हो । त्यसैले गैरआवसीय नागरिकता पनि आफैमा नागरिकता हो ।’

यसअघि लामो समय नागरिक विधयेक संशोधन प्रयास भएपनि हुन सकेको थिएन ।

विधेयक पारित भएसँगै एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने बाटो खुलेको छ ।

नागरिकताको विषयमा संविधान, कानून र सरकारको धारणा स्पष्ट रहेको गृहमन्त्री लेखकले बताएका छन् ।

प्रतिनिधि सभामा बोल्ने अधिकांश सांसदहरूले गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता पाउने गरी विधयेकमा व्यवस्था गरेकोप्रति खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन समेत गरेका छन् ।

सांसदहरूले विधयेकमा आमाप्रति गरिएको सम्मानले सन्तानका लागि आमाको महत्व बढ्ने प्रतिक्रिया समेत दिएका छन् ।

सांसदहरूले आजको दिनलाई आमाप्रतिको सम्मानका साथै एतिहासिक दिन समेत भनेका छन् ।

गृहमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै लेखकले वर्तमान नीतिगत, कानूनी र संरचनात्मक सुधारलाई प्राथमिकता दिदै काम गर्दै आएका छन् ।

नागरिकता वितरणका कानूनी जटिलता हटाउन भन्दै सरकारले प्रतिनिधि सभामा गत माघ १५ गते विधेयक दर्ता गरेको थियो ।

गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको विधयेक समेत प्रतिनिधि सभामा दर्ता गरिसकेका छन् ।

प्रतिनिधि सभा अन्र्तगत राज्य व्यवस्था समितिमा नेपाल प्रहरीको विधयेकमाथि छलफल सुरु भइसकेको छ ।

Published : Saturday, 2025 June 28, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया