गुल्मी कांग्रेसका सभापति एवं मेयर पन्थीको गाडीले मोटरसाइकललाई हान्यो, भाग्न खोजेपछि हातपातको प्रयास

बुटवल । नेपाली कांग्रेस गुल्मीका सभापति एवम् रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीको गाडीले मोटरसाइकललाई ठक्कर दिएर घाइते बनाएको छ ।

शुक्रबार राति पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको रेसुङ्गा नगरपालिकाको बा ०२–०१६ नम्बरको गाडीले बुटवल उपमहानगरपालिका–१४ तामनगरमा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते हुनेमा गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ निवासी रञ्जित खत्री रहेका छन् । खत्रीको बुटवलको बेलबासस्थित एडम सिटी अस्पतालमा उपचाररत रहेको छ ।

गाडीमा सभापति एवम् मेयर खिलध्वज पन्थीसमेत कांग्रेसका नेता कार्यकर्ताहरू सवार रहेका थिए ।

गाडीमा सवार मेयर पन्थीले घाइतेलाई उद्धार गरेर अस्पताल नलगेर गाडी भगाएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि गाडी नरोकेर अगाडि बढाउन खोजेपछि आक्रोशित स्थानीयवासीले गाडीमा सवार मेयर पन्थीसहित कांग्रेस नेताहरूलाई समेत हातपातको प्रयास गरेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्र रानाले गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताएका छन् ।

Published : Saturday, 2025 June 28, 10:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया