भदौमा एमालेकाे विधान महाधिवेशन, दुई नेताको कारबाही फुकुवा

काठमाडौं । एमालेले पार्टीका नेतृद्वय विन्दा पाण्डे र उषाकिरण तिमल्सेनाको निलम्बन फुकुवा गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको सचिवालयको बैठकले पाण्डे र तिमल्सेनाको निलम्बन फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

यसअघि एमालेले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमल्सेनालाई ६ महिनाका लागि जिम्मेवारी खोसेको थियो ।

पार्टी कार्यालय निर्माणका विषयमा पार्टीको नीति विपरीत सार्वजनिक टिप्पणी गरेपछि एमालेले उनीहरूको जिम्मेवारी खोसेको थियो । उनीहरूसँग स्पष्टीकारण माग गरिए पनि चित्तबुझ्दो जवाफ नआएको उपमहासचिव ज्ञवालीले बताएका थिए ।

यसैबीच, एमालेले आगामी साउन ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ । साउन ५ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको ज्ञवालीले बताए ।

एमालेले दोस्रो विधान महाधिवेशन आगामी भदौ २० गते ललितपुरस्थित सनराइज हलमा बस्ने निर्णय पनि गरेको छ ।

विधान महाधिवेशनमा तीन वटा दस्ताबेज पेस गर्ने एमालेले निर्णय गरेको छ । उपमहासचिव ज्ञवालीका अनुसार अध्यक्ष केपी ओलीले राजनीतिक प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रस्ताव तयार गर्नेछन् ।

ती प्रस्तावहरू विधान महाधिवेशनमा प्रस्तुत हुनेछन् । विधान महाधिवेशनको बाँकी काम केन्द्रीय कार्यालयले गर्नेछ ।

साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकअघि साउन २ गते पोलिटब्यूरो बैठक बस्नेछ ।

केन्द्रीय कमिटी बैठकले पारित गरेको विधान संशोधन प्रस्ताव सुझावका लागि तल्ला कमिटीमा लैजानेछ ।

एमालेले गणतन्त्र विरोधी गतिविधि अन्त्य भएको निष्कर्ष निकालेको छ । ‘प्रतिगमनका केही प्रयत्नहरू भए, गणतन्त्र विरोधी गतिविधि भए । जनताको सजगता, राजनीतिक दलहरूको सक्रियता र सरकारको प्रभावकारिताले त्यो स्थिति अन्त्य भएको छ । प्रतिगामी प्रयासहरू निस्तेज भएका छन् । समग्रमा, देशले सही दिशा लिएको र पार्टीको नेतृत्व निष्कर्ष निकालेका छौँ,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

Published : Wednesday, 2025 June 25, 6:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया