कपिलवस्तु कांग्रेसका सभापति कलामविरुद्ध शक्तिशाली विद्रोह, थापाले भने- पार्टी कसैको लिमिटेड होइन

तौलिहवा । नेपाली कांग्रेसका नेता विक्रमसिंह थापाले कपिलवस्तु कांग्रेस कसैको प्राइभेट लिमिटेड नरहेको चेतावनी दिएका छन् ।

मंगलबार प्रेस नोट जारी गरेर कपिलवस्तु कांग्रेसका नेता थापाले भनेका छन्, ‘निषेध होइन, संवाद लोकतन्त्रको मूल हो । लोकतन्त्र भनेको असहमतिको सम्मान गर्ने व्यवस्था हो, निषेधको हैन ।’

‘महामानव वीपी कोइरालाको विचार र दर्शनबाट जन्मिएको पार्टीभित्रै निषेधको राजनीति हुनु गम्भीर चिन्ताको विषय हो,’ नेता थापाले भने ।

‘हो ! बजेट वितरणमा पक्षपात भएको छ । त्यसप्रति असन्तुष्टि पनि जायज छ,’ नेता थापाले भने, ‘तर समाधान संवाद हो, निषेध होइन ।’

चेतावनी शैलीमा नेता थापाले भनेका छन्, ‘हेक्का रहोस्, नेपाली कांग्रेस कपिलवस्तु कसैको लिमिटेड होइन ।’

‘राजनीतिक असहमति हुनु स्वाभाविक हो । तर, असहमतिका नाममा सार्वजनिक पदमा रहेका मन्त्रीलाई जिल्लामा प्रवेश गर्न निषेध गर्नु गम्भीर अलोकतान्त्रिक प्रवृत्ति हो,’ थापाले भने, ‘यो निर्णय न त संविधान अनुरूप हो, न त लोकतन्त्रको मूल भावना अनुरूप ।’

उनले भने, ‘मन्त्रीप्रति असन्तुष्टि छभने त्यसको जवाफ बहस, संवाद र राजनीतिक संस्कारमार्फत दिनुपर्छ । निषेधजस्तो कदमले हाम्रो समाजमा द्वन्द्व, वितृष्णा र विभाजन मात्र बढाउँछ ।’

‘कपिलवस्तु जस्तो ऐतिहाँसिक भूमिमा यस्तो संकुचित सोँचको स्थान हुनुहुँदैन,’ नेता थापाले भने, ‘लोकतन्त्रको रक्षा तिनै संस्थाहरूले गर्छन्, जहाँ असहमतिको सम्मान हुन्छ, न कि प्रतिबन्ध ।’

नेपाली कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलामले असार ९ गते प्रेस विज्ञप्ति जारी गरेर लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई कपिलवस्तु जिल्लाको सार्वजनिक तथा पार्टीको कुनै पनि कार्यक्रममा सहभागी नगराउने भने राजनीतिक पूर्वाग्रही भएर विज्ञप्ति जारी गरेका थिए ।

सभापति कलामको सो विज्ञप्तिको चौतर्फी विरोध भइरहेको छ । कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीको जिल्ला सभापतिले आफ्नै पार्टीका मन्त्रीहरूलाई बहिस्कार गर्ने भनेर विज्ञप्ति जारी गर्नु कम्युनिस्ट प्रवृत्ति र अलोकतान्त्रिक रहेको भनेर आलोचना भएका थिए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनको उक्साहट र दवावमा कपिलवस्तु कांग्रेसका सभापति कलामले आफ्नो अलोकतान्त्रिक चरित्र, निरंकुशता र असंहिष्णु प्रवृत्ति देखाएका थिए ।

कांग्रेस नेता थापाले कपिलवस्तु कांग्रेसका सभापति कलामको विज्ञप्तिको जबरजस्त रुपमा विरोध गर्दै प्रतिवाद गरेका छन् । थापाले कांग्रेस कसैको प्राइभेट लिमिटेड होइन भनेर लोकतान्त्रिक संस्कारमा ध्यान दिन सभापति कलामलाई सचेत गराएका छन् ।

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले सम्हालेका मन्त्रालयहरूबाट उल्लेख्य रुपमा बजेट र योजनाहरू परेका छन् । लुम्बिनी कांग्रेसका सभापति पुन र कपिलवस्तु कांग्रेसका सभापति कलामका कमिशन खाने सेटिङका योजनाहरू व्यापक कटौती भएपछि राजनीतिक पूर्वाग्रही भएर अलोकतान्त्रिक संस्कार र हर्कतहरू देखाइरहेका छन् ।

प्रदेश सभा निर्वाचनमा ५ हजारभन्दा धेरै मतको अन्तरले स्वतन्त्र उम्मेदवारसँग पराजित भएका लुम्बिनी कांग्रेसका सभापति पुनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयबाट मुख्यमन्त्री चेतनारायण आचार्यले सुरक्षाकर्मी परिचालन गरेर घोक्रेठ्याक लगाएर निकालेपछि त्यसको प्रतिशोध साँध्न सभापति पुनले आफ्नो सचिवालयको नामबाट प्रेस विज्ञप्ति जारी गरेर लुम्बिनी सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेटको विरोध गरिसकेका छन् ।

सभापति पुनको त्यो विज्ञप्तिको सबैले विरोध गरिरहेका छन् । यता, सभापति पुनको उक्साहटमा लागेर विज्ञप्ति निकालेर मन्त्रीहरूलाई बहिस्कार गर्ने घोषणा गरेका कपिलवस्तु कांग्रेकास सभापति कलामको पनि आलोचना भइरहेको छ । कांग्रेसभित्र विद्रोह भएको छ ।

Published : Tuesday, 2025 June 24, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया