पोखरा विमानस्थलको १५ अर्ब भ्रष्टाचारका नाइके बचाउन मन्त्री पाण्डेको गोलमटोल जवाफ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको झण्डै १५ अर्ब भ्रष्टाचारका नाइके नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल केही गर्न नसकिने निरिह जवाफ दिएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पोखरा र भैरहवा विमानस्थलमा भएको भ्रष्टाचारका व्यक्ति र कर्मचारीहरूलाई कारबाही कहिले हुन्छ भनेर सोधेको प्रश्नमा मन्त्री पाण्डेले महानिर्देशक अधिकारीलाई फाइदा हुने गरेर अभिव्यक्ति दिएका हुन् । मन्त्री पाण्डेले महानिर्देशक अधिकारीलाई कारबाही गर्ने पक्षमा छैनन् । पाण्डेले अधिकारीलाई बचाउन प्रयास गरिरहेका छन् ।

माओवादी सांसद मोदीले भने, ‘पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका भ्रष्टाचार र सार्वजनिक लेखा समितिले समेत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका भ्रष्टाचार, कारबाहीको सिफारिस र निलम्बन भएको छ । अहिलेसम्म किन भएन ?’

मन्त्री पाण्डेले पोखरा विमानस्थल भ्रष्टाचारका मुख्य नाइकेका रुपमा कारबाही सिफारिस भएका महानिर्देशक अधिकारीलाई बचाउने गरेर अभिव्यक्ति दिएपछि प्रश्न उठेको छ ।

मन्त्री पाण्डेले भने, ‘पोखरा र भैरहवा विमानस्थलसँगको भ्रष्टाचारको कुरा त्यो समितिबाट अख्तियारमा गएको छ । अख्तियारले अगाडि के गरेको हो हामीलाई थाहा छैन । समितिले पनि हामीलाई फर्मल्ली यसै गर्न भनेर केही पनि भनेको छैन । मन्त्रालयले गर्नुपर्ने काम उचित समयमा काम गर्छ । अहिले हामीले गर्ने कुरा छानविनको दायरामा भएको कारणले केही गर्ने स्थिति छैन ।’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने क्रममा तत्कालीन समयमा प्राधिकरणका हालका महानिर्देशक अधिकारी आयोजना प्रमुख थिए । पोखरामा कमाइ भएको रकमबाट ११ तहका एकैपटक प्राधिकरणको महानिर्देशक बनेका अधिकारीलाई सार्वजनिक लेखा समितिले पोखराको १५ अर्ब भ्रष्टाचारको मुख्य नाइके भएको ठहर गर्दै निलम्बन गरि कारबाही सिफारिस गरेको छ ।

पोखरा विमानस्थलको १५ अर्ब भ्रष्टाचार प्रकरणमा कर छुट लगायत पोखरा विमानस्थ निर्माण गर्दा झण्डै १५ अर्ब रकम भ्रष्टाचार भएको विषयमा सार्वजनिक लेखा समितिले महानिर्देशक अधिकारीलाई मुख्य नाइके बनाएर कारबाही सिफारिस गरेको छ ।

सार्वजनिक लेखा समितिले राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय छानविन उपसमिति बनाइ पोखरा विमानस्थलमा झण्डै १५ अर्ब भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धन आयोगलाई छानविन गरी दोषी उपर कारबाही गर्न सिफारिस गरिसकेको छ ।

लेखा समितिले भ्रष्टाचारका मुख्य नाइके महानिर्देशक अधिकारीसहित निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक विनेश मुनाकर्मी, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, पूर्व महानिर्देशकहरू सञ्जीव गौतम र राजन पोखरेललाई कारबाही सिफारिस गरेको छ ।

११ तहका अधिकारीलाई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आर्थिक प्रलोभनमा परेर महानिर्देशक बनाएका थिए । यो कुरा आलेले सार्वजनिक लेखा समितिको बैठकमा अभिव्यक्ति दिइसकेका छन् । अधिकारीलाई पार्टी चलाउन शुभलाभ गरेर महानिर्देशक बनाएको आलेले स्वीकार गरेका थिए ।

Published : Tuesday, 2025 June 24, 11:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया