एनआरएनए ऐनमा सुधार ल्याउन पहल गरी रहेका छौँ : अध्यक्ष महेशकुमार श्रेष्ठ

बाल्टिमोर । गैर आवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएनएलाई एकताबद्ध गर्दै नेपालमा समृद्धिको अभियानलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रवार अमेरिकाको बाल्टिमोरमा आयोजित स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले एनआरएनएको विगतको विभाजनप्रति चिन्ता व्यक्त गरेका छन् । उनले अबको यात्रा ‘समावेशी एकता र संस्थागत सुधार’तर्फ केन्द्रित हुने बताए ।

एनआरएनए एनसीसी अमेरिकाद्वारा आफ्नो स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपाल समृद्ध बनोस् भन्ने डायस्पोराको चाहना रहेको र नेपालले पनि त्यही अपेक्षा राखेको बताए ।

‘त्यसका लागि हामी ठूलो फन्डको तयारीमा छौँ र एनआरएनए ऐनमा सुधार ल्याउन पहल गरी रहेका छौँ,’ उनले भने ।

अध्यक्ष श्रेष्ठले विगतमा एनआरएनएप्रति नकारात्मक धारणा बनेको स्वीकार गर्दै यसको मुख्य कारण सङ्गठनभित्रको विभाजन रहेको बताए । ‘झगडा मात्र गर्ने संस्था भन्ने छवि बनेको छ । त्यसैले आवाज सुन्ने निकायहरूमा हाम्रो प्रभाव कमजोर भएको हो,’ उनले भने ।

श्रेष्ठले एकता प्रक्रियाको सन्दर्भमा मे महिनामा अध्यक्ष बन्ने निर्णयबारे स्पष्ट गर्दै भने, ‘त्यति बेला म अध्यक्ष बन्न तयार थिइनँ । तर, सबै मिल्ने प्रस्ताव भएपछि म तयार भएँ ।’

उनले संस्थाको एकताका लागि आवश्यक परे आफू पद त्याग गर्न तयार रहेको प्रस्ताव गरे पनि अर्कोतर्फबाट कुनै लचकता नदेखिएको बताए । उनले एमआइस प्रणालीलाई लिएर जारी विवाद समाधानका लागि स्वतन्त्र समिति बनाउने प्रस्तावसमेत अस्वीकृत भएको बताए ।

एनआरएनए आइसिसीका उपाध्यक्ष बुद्धिसागर सुवेदीले एकताको विकल्प नरहेको भन्दै सहकार्यको अपील गरेका छन् । उनले उपाध्यक्ष सर्वोच्च अदालतको परमादेश र परराष्ट्र मन्त्रालयको मान्यतासहितको निर्वाचित नेतृत्व भएकाले विवाद गर्न आवश्यक नरहेको बताए ।

महासचिव बीआर लामाले विभाजन अन्त्य गर्न वार्ता गरिरहेको बताए । ‘हामी अक्टोबरसम्म कार्यकाल दिन तयार भयौँ । तर, हाम्रो प्रस्ताव स्वीकार भएन,’ उनले भने ।

एनआरएनए आइसिसीका पूर्व उपाध्यक्ष डा.केशव पौडेलले एनआरएनएको नेतृत्व एजेन्डामा केन्द्रित हुनु आवश्यक रहेको बताए ।

कार्यक्रममा मेरिल्यान्ड च्याप्टर अध्यक्ष कुल गुरुङले संस्थाको हितका लागि सबै एक ठाउँमा आउनुपर्ने बताए । ‘हामी दोधारमा छौँ, सदस्यता बनाउन समेत गाह्रो छ, अब एकताको सन्देश दिनुपर्छ,’ उनले भने ।

एनआरएनए अमेरिका अध्यक्ष डा.अर्जुन बन्जाडेले कार्यक्रममार्फत धेरैको अन्योल हटेको बताए । ‘महेश दाइको नेतृत्वमा सुरु भएको एकता अभियान उत्साहजनक छ । एनआरएनए अमेरिकालाई एक बनाएर लैजान हामी प्रतिबद्ध छौँ,’ उनले भने ।

एनआरएनए अमेरिकाका अध्यक्ष सूर्य लम्सालले विगत ४÷५ वर्षको विवाद हटेर एकताको सुरुआत भएको’ टिप्पणी गरेका छन् । अब हामी नागरिकता र लगानीजस्ता विषयमा केन्द्रित हुनुपर्छ,’ उनले भने ।

यसअघि टेक्सस राज्यको ड्यालस सहरमा पनि अध्यक्ष श्रेष्ठको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरिएको थियो ।

Published : Saturday, 2025 June 21, 7:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया