अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन सकिदैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरूलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले ब्रिटिश गोरखा सैनिकहरूले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वाभाविक भए पनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने बताए । उनले अरू कामहरूका लागि एनआरएनलाई दिए सरहको नागरिकता दिन सकिने बताए ।

‘जहाँसम्म गोरखा ब्रिटिश सैनिकलाई बेलायती सैनिक सरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ । त्यसमा म स्पष्ट छु,’ सभापति देउवाले भने, ‘ब्रिटिश गोरखा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नुभएको छ, यस विषयमा राजनीतिक दलहरूले छलफल गरिरहेका छन् । छिटै निष्कर्ष निस्किनेछ ।’

उनले भने, ‘यसमा के छ भने एनआरएन भन्ने पनि छ । नेपाल छोड्नुपर्ने विभिन्न बाध्यता छन्, त्यसैले ब्रिटिस गोरखा सरह नै नागरिकता पाउनुपर्छ भन्ने छ ।’

सभापति देउवाले भने, ‘ब्रिटिश गोरखाले पनि बेलायती सैनिक सरह नै सेवा पाउनुपर्छ भन्ने हाम्रो माग हो तर उनीहरूले मानेका छैनन् । निरन्तर नागरिकताको माग उठाउनु स्वाभाविक कुरा हो । त्यो दिने नदिने कुरा हाम्रो हातमा हुँदैन ।’

‘उता नागरिकता लिइसकेकालाई हामी नेपालको नागरिकता दिन सक्दैनौँ । अरू कामहरूका लागि एनआरएन नागरिकता दिन सकिन्छ,’ उनले भने, ‘हाम्रो जस्तो सानो देशमा धेरै गाह्रो पर्छ । नागरिकताको सम्बन्धमा छलफलको विषय छ ।’

‘अरू देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन गाह्रो छ । अरू सुविधाहरू दिन सकिन्छ,’ उनले भने, ‘नेपाल फर्किन चाहनेलाई स्वागत भइहाल्छ ।’

सभापति देउवाले गोरखा सैनिकहरूको इतिहास गर्विलो रहेको बताए । उनले ब्रिटिश गोरखा सैनिकहरू नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण माध्यम भएको बताएका छन् ।

नेपाल र बेलायतबीचको सम्बन्ध विस्तार हुनुमा गोरखा सैनिक फौज महत्वपूर्ण रहेको सभापति देउवाले बताएका छन् ।

Published : Saturday, 2025 June 21, 6:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया