सर्लाहीमा दुई समूहबीच झडप, ईन्स्पेक्टर घाइते

बरहथवा । सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा बाटो विस्तारक्रममा दुई पक्षबीच झडप भएको छ ।

शनिबार बिहान भएको झडपमा प्रहरी निरीक्षक (ईन्स्पेक्टर) सहित तीन जना घाइते भएका छन् । प्रहरीले झडप नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले बताएका छन् ।

झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका छन् ।

प्रहरी निरीक्षक गणेश झडप नियन्त्रणमा लिनेक्रममा र अन्य दुई सर्वसाधारण भने आपसमा झडप हुँदा घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घाइतेलाई घटनास्थलबाट उद्धार गरेर अस्पताल लाने काम भइरहेकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिंहले बताए ।

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा र सशस्त्र प्रहरीको समेत गरी ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

झडप नियन्त्रणमा आइसकेकाले अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

खैराटोलमा सडक विस्तार गरेर ढलान गर्नेक्रममा बिहीबार केही महिला र पुरुष मिलेर एक जना महिलालाई लछारपछार पारेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सोही दिनदेखि सडक विस्तारकै क्रममा विवाद भएर दुई पक्षबीच झडप भएको छ ।

Published : Saturday, 2025 June 21, 5:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया