उपनिर्वाचनबारे प्रधानमन्त्रीद्वारा परामर्श, राष्ट्रिय सभाबाट यी १८ जना विदा हुने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रियसभा र स्थानीय तहको उपनिर्वाचनका विषयमा छलफल गरेका छन् ।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले भेट गरेर प्रतिनिधि सभाका रिक्त दुई स्थान, राष्ट्रियसभामा फागुन २० गते रिक्त हुन लागेका १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा उपनिर्वाचन गर्ने सन्दर्भमा परामर्श गरेका हुन् ।

कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल गरेका हुन् ।

प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं १ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ ।

स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको आयोगले जानकारी गराएको छ ।

प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरेको तयारीअनुसार आवश्यक सहजीकरणका लागि नेपाल सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाएका छन् ।

प्रधानमन्त्री ओलीसँगको भेटमा आयुक्तहरू डा. जानकीकुमारी तुलाधार र सगुनशम्शेर जबरा, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उच्चाधिकारीलगायत सहभागी रहेका थिए ।

२०७९ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही क्षेत्र नं. ३ बाट निर्वाचित राप्रपाका दीपक बोहराको निधन भएपछि यो क्षेत्र रिक्त रहेको छ ।

गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नम्बर १(२) बाट निर्वाचित भएका दीपक गुरुङको पद खारेज भएपछि उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको छ ।

फागुन २० गते कार्यकाल सकिएर बिदा हुने १९ जना छन् । जसमध्ये १८ पदका लागि निर्वाचन हुनेछ । एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

राष्ट्रपतिबाट मनोनीत भएका वामदेव गौतम कार्यकाल पूरा गरेर फागुन २० गते राष्ट्रियसभाबाट बिदा हुँदैछन् । गौतमको ठाउँमा पुनः राष्ट्रपतिबाट मानोनीत भएर अर्का सदस्य आउनेछन् ।

कार्यकाल सकिने सांसदहरूमा धेरै एमालेका छन् । ६ वर्षे कार्यकाल पूरा गरेर फागुनमा एमालेका ८, माओवादी केन्द्रका ७, नेकपा (एकीकृत समाजवादी) का १, जनता समाजवादी पार्टी (जसपा) नेपालका १ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १ सदस्य कार्यकाल सकेर बिदा हुँदैछन् ।

एमालेकी इन्दिरा गौतम (महिला समूह), गोपाल भट्टराई (अन्य समूह), तुलसाकुमारी दाहाल (महिला समूह) देवेन्द्र दाहाल (अन्य समूह), भगवती न्यौपाने (महिला समूह), विमला घिमिरे (महिला समूह), शारदादेवी भट्ट (महिला समूह) र सुमित्रा बिसी (महिला समूह) रहेका छन् ।

माओवादी केन्द्रका गोपीबहादुर सार्की (दलित समूह), गंगाकुमारी बेलबासे (महिला समूह), जगप्रसाद शर्मा (अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूह), तारामान स्वाँर (अन्य समूह), नारायणकाजी श्रेष्ठ (अन्य समूह), मायाप्रसाद शर्मा (अन्य समूह) र राधेश्याम पासवान (दलित समूह) राष्ट्रियसभाबाट फागुनमा बिदा हुँदैछन् ।

नेकपा (एकीकृत समाजवादी)का बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा नेपाल) का मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका शेखरकुमार सिंह राष्ट्रियसभा सदस्यबाट बिदा हुनेछन् ।

Published : Friday, 2025 June 20, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया