रास्वपाले नौटंकी देखाइरहेका बेला ३ दलका शीर्ष नेताहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रधानमन्त्री ओलीसहित कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको बैठकमा समग्र राजनीतिक विषयका विषयमा छलफल भएको हो । तीन शीर्ष नेताहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई अघि बढाउन निकै ढिलाई भएको भन्दै सचेततापूर्वक कुनै पनि ठाउँमा कमी कमजोरी नहुने गरी अघि बढाउने बताएका हुन् ।

बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित संयन्त्रहरू निर्माण गरी कामहरु प्रारम्भ भइसकेको अवस्थामा संयन्त्रहरूले गरेका कामका बारेमा सामान्य ब्रिफिङ गर्ने काम भएको प्रधानमन्त्रीका विशेष सल्लाहकार अग्नि खरेलले बताए । उनले कार्यालय व्यवस्थापन लगायतका विषयमा पनि छलफल भएको बताए ।

खरेलले संक्रमणकालीन न्यायसम्बन्धी आयोगलाई सहजीकरण गर्न सरकार तयार रहेको र राजनीतिक दलहरूले उपयुक्त ढंगले संयोजन गर्ने तथा बाँकी कामहरू आयोगले नै गर्ने कुरामा सचेत रहेको बताए ।

खरेलले अहिले सरकारी पक्षबाट उपचार गर्ने कुराहरूमा सरकारी अस्पतालहरूलाई अगाडि बढाउन स्वास्थ्य मन्त्रालयले एउटा संयन्त्र बनाएको बताए ।

कार्यविधिको तहमा रहेर संक्रमणकालीन न्यायसँग गाँसिएका द्वन्द पीडितहरूका उपचार हुने जानकारी सरकारका तर्फबाट शीर्ष नेतालाई गराइएको खरेलले बताएका छन् ।

प्रधानमन्त्री ओलीले दैलेखमा पेट्रोलियम पदार्थको स्रोत फेला परेको विषयमा सबै नेताहरूलाई बधाई समेत दिएका छन् ।

संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समेत असर पार्ने गरेर नौटंकी देखाइरहेका बेला प्रधानमन्त्री ओलीसहित ३ दलका शीर्ष नेताहरूको बैठक बसेको छ । रास्वपाले राजनीतिक पूर्वाग्रह भएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नुका साथै संसदमा संसदीय मर्यादा विपरितका हर्कत गर्दै आएका छन् ।

Published : Friday, 2025 June 20, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया