सभापति र उपसभामुखका कर्तुतबारे मौन रास्वपा कुन नैतिकताले गृहमन्त्रीको राजीनामा माग्दैछ ?

काठमाडौं । अहिले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि अतिरंजनापूर्ण आक्षेपका साथ सदन अवरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानाका कर्तुतबारे मौनता साँधिरहेको छ ।

यो रास्वपाको द्वैध रवैया हो, जसले उसको राजनीतिक शैलीको उदेकलाग्दो पक्ष उजागर गर्छ । रास्वपाको कथनी र करनीमा देखिएको यो अन्तरबाट के स्पष्ट हुन्छ भने यो दलले अहिले सँसदमा प्रदर्शन गरिरहेको अवरोधपूर्ण रवैया उसको राजनीतिक स्टन्ट मात्र हो ।

उपसभामुख जस्तो जिम्मेवार, गरिमामय र संवैधानिक पदको लेटर प्याडको दुरुपयोग गरेर मानव बेचविखन जस्तो जघन्य अपराधमा जोडिएकी उपसभामुख इन्दिरा रानालाई पदबाट बर्खास्त गर्नुपर्ने माग राख्नु पर्नेमा रास्वपा यो मामिलामा बिलकुल मौन छ ।

उपसभामुख रानाले कुटनैतिक मर्यादाको खिल्ली उडाउदै सन् २०२४ जुलाई २० मा आफूसँगै अमेरिका जान लागेका ६ जनाको भिषा प्रकृया सहज बनाइदिन भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन ।

आफूले राम्ररी नचिनेका मानिसहरूलाई आफ्नो सचिवालयका व्यक्ति भन्दै रानाले भिषा सहज बनाइदिन भन्दै पत्र लेखेकी थिइन । उनले आर्थिक लेनदेनका आधारमा कुटनैतिक मर्यादा र पदीय आचरण विपरित लेखेको पत्र केही दिनपछि बाहिरिएको थियो । पत्र बाहिरिएपछि राना चर्को विवादमा तानिएकी थिइन् ।

मोटो रकम खाएर ती ६ जनालाई अमेरिका लैजान खोजेको आरोप लागेपछि उपसभामुख रानाको राजिनामा मागिएको थियो ।

व्यक्तिगत प्रयोजनका लागि संसदको लेटर प्याड प्रयोग गरेको आरोप पनि उनीमाथि छ । परराष्ट मन्त्रालयमार्फत राजदूतावासलाई चिठ्ठी लेख्नु पर्नेमा त्यसलाई क्रस गरेर रानाले सिधै पदीय मर्यादाको ख्याल नगरी चिठ्ठी लेखेकी थिइन ।

हेक्का रहोस्, उपसभामुखको कार्यालय भिसा सहजीकरण गर्ने कन्सल्टेन्सी होइन । संसदबाट कोही विदेश भ्रमणमा जानुपर्ने भए संसद सचिवालयको आफ्नै प्रक्रिया हुन्छ । तर, उपसभामुख रानाले त्यसलाई समेत मिचेर पत्र लेखेकाले यसले संसदीय प्रकृयाकै धज्जी उडाएकी छिन् ।

उपसभामुख रानाको हर्कतले संसदकाे मात्रै नभई देशकै अपमान भएको छ । यस्तोबेला स्वयं उपसभामुखले लोकलाजको ख्याल गर्दै राजीनामा दिनुको साटो प्रतिरक्षाका खातिर नानाभाँती रणनीति अपनाइरहेकी छिन् । यसबाट रास्वपाकै साख धुमिल भइरहेको छ ।

अहिले रास्वपाका सांसदहरूले संसद भवनभित्र रमिता देखाइरहेका छन् । एकजना अध्यागमन विभागका कर्मचारीमाथि अख्तियारले सोधपुछ गरिरहेका बेला त्यसमा गृहमन्त्रीको कुनै दोष नभएको भन्ने जगजाहेर हुँदाहुँदै रास्वपा गृहमन्त्रीको राजीनामा माग गरिहेको छ ।

एकातिर गृहमन्त्रीमाथि नैतिकताको प्रश्न खडा गर्ने रास्वपा अर्कोतिर आफ्नो पार्टीको कोटाबाट उपसभामुख राना मानव बेचबिखनको गम्भीर मुद्दामा दोषी हुँदा त्यसका विषयमा भने कुरै गर्न चाहँदैन ।

आखिर रास्वपा कुन नैतिकताको जगमा टेकेर गृहमन्त्रीको राजीनामा माग्दैछ ? ‘जान्नेलाई छान्ने’ पार्टीबाट समानुपातिक सांसद भएर उपसभामुख भएकी रानाले गरेको मानव बेचबिखन देख्दै नदेख्ने रास्वपाले गृहमन्त्रीमाथि कुन नैतिकताका आधारमा प्रश्न उठाइरहेको छ ?

कर्मचारीले गल्ती गर्दा गृहमन्त्रीकै राजीनामा माग्ने रास्वपाले उपसभामुखबारे चुँसम्म नगर्नुलाई नै राजनीतिक शास्त्रमा द्वैध रणनीति भन्ने गरिन्छ । उपसभामुखको विषयमा मौनता साँध्ने रास्वपा एउटा होइन पाँच/पाँच वटा सहकारीमा करोडौं रुपियाँ ठगेको मुद्दामा कारगार सजाय काटिरहेका रवि लामिछानेलाई अहिले पनि पार्टी सभापति र संसदीय दलको नेता मानेर बसिरहेको छ । अरु कुनै नेता नै नभएजस्तो गरेर सहकारी ठगीको मुद्दामा फसेका व्यक्तिलाई नै सभापति मानिरहेको रास्वपाले कुन नैतिकताले गृहमन्त्रीको राजीनामा माग्दैछ ?

कारागारमा कैदी जीवन बिताइरहेको व्यक्ति कुन नैतिकताले पार्टी सभापति र संसदीय दलको नेता भइरहन्छ ? रास्वपाका नेता कार्यकर्ता यो हदसम्म अबुझ र करीब करीब लामिछानेकै दास सरह किन भएका हुन् ? त्यो कसैले बुझन सकेको छैन ।

Published : Thursday, 2025 June 19, 10:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया