स्व.शास्त्रीप्रति पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलि, सभापति देउवाले ओढाए झण्डा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व.ढुण्डीराज शास्त्रीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

बुधबार कांग्रेस केन्द्रीय कार्यालय वीपीनगर, ललितपुरमा अन्तिम श्रद्धाञ्जलिका लागि स्व.शास्त्रीको शव राखिएको थियो । स्व.शास्त्रीप्रति सभापति देउवाका साथै महामन्त्री गगन थापा, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा.शशांक कोइराला, विमलेन्द्र निधि, डा.मीनेन्द्र रिजाल, योगेन्द्र चौधरी, रामहरि खतिवडा, गोविन्द भट्टराई, लक्ष्मी खतिवडा लगायतका नेताहरूले अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

स्व.शास्त्रीको आजै बुधबार पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ । शास्त्रीको ८९ वर्षको उमेरमा २०८२ असार २ गते निधन भएको थियो ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री स्व.शास्त्रीका दुई श्रीमती, दुई छोरा र तीन छोरी छन् । शास्त्रीकी जेठी श्रीमतीको २२ दिन अगाडि निधन भएको थियो ।

अर्घाखाँची जिल्लाको किमडाडामा विक्रम संवत् १९९३ जेठ २५ गते जन्मिएका स्व.शास्त्री पटक–पटक पार्टीको केन्द्रीय सदस्य भएका थिए । विक्रम संवत् २०४८ र २०५१ को आम निर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

Published : Wednesday, 2025 June 18, 4:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया