कांग्रेसको आकस्मिक बैठकका निर्णयहरू सार्वजनिक, शास्त्रीको निधनप्रति गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्तावसहितका निर्णयहरू गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले गहिरो दुःख व्यक्त गर्दै शास्त्रीप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका स्व.शास्त्रीले प्रजातन्त्र पुनर्स्थापनाको संघर्ष र आन्दोलनहरूका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताएको कांग्रेसले जनाएको छ । ‘स्व.शास्त्री जननायक वीपी कोइरालाका अनुयायी, समाजवादी चिन्तक र प्रजातान्त्रिक समाजवादका व्याख्याता समेत हुनुहुन्थ्यो,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

अर्घाखाँची जिल्लाको किमडाडामा विक्रम संवत् १९९३ जेठ २५ गते जन्मिएका शास्त्री पटक–पटक पार्टीको केन्द्रीय सदस्य भएका थिए । विक्रम संवत् २०४८ र २०५१ को आम निर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

‘नेता शास्त्रीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति नेपाली कांग्रेस उच्च सम्मान प्रकट गर्दछ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘उहाँको निधनबाट नेपाली कांग्रेसले एक वौद्धिक, अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको छ,’ उनले भने ।

‘नेपाली कांग्रेसको संगठन निर्माण र सुदृढीकरणमा पु¥याउनु भएको योगदान, प्रजातन्त्रप्रतिको प्रतिवद्धता, समाजवादी विचारको प्रवर्द्धन तथा पार्टीका विभिन्न महत्वपूर्ण पदीय जिम्मेवारीमा रहेर उहाँले निर्वाह गर्नु भएको नेतत्वदायी भूमिका पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ,’ कांग्रेसले भनेको छ ।

‘कांग्रेसले नेता शास्त्रीको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको यो बैठक एक मिनेट मौन धारण गर्ने निर्णय गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनहरूमा धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै गहिरो समवेदना प्रकट गर्दछ ।’

कांग्रेसले स्व.शास्त्रीप्रति उच्च सम्मान प्रकट गर्दै असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

असार ५ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने तथा स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय भएको छ ।

स्वर्गारोहणको १३औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय भएको मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Published : Wednesday, 2025 June 18, 3:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया