कठालो समातेर कारबाही गर्नुपर्ने साइबर अपराधका अभियुक्त पाठक समक्ष प्रहरीको बिन्तीपत्र

काठमाडौं । साइबर अपराध गरेर भूमिगत भएका दिलभुषण पाठकलाई उपस्थित हुन आउने नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीले ‘विन्तीपत्र’ हालेको छ ।

युट्युब दर्ता नै नगरेर राजनीतिक नेतृत्व, विभिन्न व्यक्ति, मन्त्री लगायतको तथ्यहीन र भ्रामक सामग्रीहरू पाठकले युट्युबमा राख्ने गरेपछि पीडितले साइबर ब्यूरोमा जाहेरी दिएका थिए । काठमाडौं जिल्ला अदालतले पनि पाठकलाई पक्राउ गरेर अनुसन्धान र कारबाही गर्न पक्राउ पुर्जी जारी गरिदिएको छ ।

पक्राउ पुर्जीका आधारमा साइबर ब्यूरोले पाठकलाई पक्राउ गरेर कानून बमोजिम गर्नुपर्नेमा पक्राउ गर्न नसकेर पाठक समक्ष विन्तीपत्र पेश गरेको भनेर सामाजिक सञ्जालमा साइबर ब्यूरो, भोटाहिटीको आलोचना भइरहेको छ ।

पाठकलाई च्याप्प कठालोमा समातेर हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने थियो । तर, प्रहरीले पाठकलाई पक्राउ गरेर अनुसन्धान गर्न डराइरहेको छ । पाठकले आफू पत्रकार हुँ भनेर प्रहरीलाई धम्की दिएका छन् । सोही कारण प्रहरी पाठकसँग डराइरहेको छ ।

साइबर ब्यूरोको पत्रमा भनिएको छ, ‘नरप्रसाद पाठकको नाती, कृष्णप्रसाद पाठकको छोरा दिलभुषण पाठकज्यू, जिल्ला झापा साविक गरामनी गाविस वडा नं. ९ हाल विर्तामोड नगरपालिका वडा नं. १० स्थाई वतन भई हाल काठमाडौंको वडा नं. ४ धुम्वाराही बस्नेलाई नजिकको प्रहरीमा उपस्थित हुन भनेर विन्तीपत्र होलेको हो ।

साइबर अपराध गरेको र काठमाडौं जिल्ला अदालतबाट कानून बमोजिम पक्राउ पुर्जी जारी भएपछि पाठकलाई प्रहरीले कठालो समातेर घिसारेर हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने थियो । तर, पाठकका सामु प्रहरी निरिह बनेको छ ।

पक्राउ पुर्जी जारी भएको दुई हप्ता हुनै लाग्दा समेत पाठक पक्राउ पर्न सकेका छैनन् । नेपाल प्रहरी अपराध अनुसन्धानमा विश्वमै उत्कृष्ठ प्रहरीमा पर्छ ।

‘प्रस्तुत विषयमा परिवर्तित नाम साइबर ब्यूरो ५९ (२०८१/८२)को जोहरीले वाी नेपाल सरकार प्रतिवादी तपाई भएको विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा तपाईविरद्ध सम्मानित काठमाडौं जिल्ला अदालतबाट मिति २०८२ जेठ २७ गते मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को उपदफा ३ बमोजिम पक्राउ अनुमति प्राप्त भएको हुँदा यथाशीघ्र यस ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई अनुसन्धान कार्यमा सहयोग पुर्‍याइ दिनु हुन अनुरोध गरिएको छ,’ साइबर ब्यूरोको सूचनामा भनिएको छ ।

साइबर अपराध गरेर फरार रहेका पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञाको मागसहित रिट दिएका थिए । रिटको सुनुवाईपछि पाटन उच्च अदालतले पाठकले माग गरे बमोजिमको आदेश दिन अस्वीकार गरिदिएको छ । उच्च अदालत पाटनले पाठकलाई गैरकानूनी पक्राउ नगर्नु भनेको छ । तर, कानून बमोजिम पाठकलाई पक्राउ गर्न सकिने भनेर उच्च अदालतले पाठकलाई पक्राउ गर्ने प्रहरीलाई बाटो खोलिदिएको छ ।

अदालतको आदेश आफू अनुकूलको नभएपछि अहिले पनि भूमिगत छन् । प्रहरीले पक्राउ गर्न सक्ने डरले पाठक लुकेर फरार छन् । पाठकलाई प्रहरी समक्ष आत्मसमर्पण गरेर अनुसन्धानमा सहयोग गर्न व्यूरोले आग्रह गरेको छ ।

साइबर ब्यूरो, भोटाहिटीको प्रमुख (डीआईजी) नवीन्द अर्याल छन् । अर्यालले किन पाठकलाई पक्राउ चाहेका छैनन् प्रश्न उठेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख (एआईजी) टेकबहादुर तामाङ, काठमाडौं प्रहरी परिसरका प्रमुख (एसएसपी) विश्वराज अधिकारी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) रमेश बस्नेत छन् । उनीहरू सबैको नेतृत्वमाथि प्रश्न उठेको छ ।

Published : Tuesday, 2025 June 17, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया