रास्वपा र राप्रपाको ‘बालहठ’, सभामुखद्वारा सभापति अर्यालसँग परामर्श, ५ दलसँग पनि छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले विरोधमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई मनाउन प्रमुख ५ दलका नेता र प्रमुख सचेतकहरू छलफल गरेका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । घिमिरेले बजेटको छलफलमा सहभागी भइ संसदलाई सहज रुपमा अगाडि बढ्न दिन रास्वपा र राप्रपासँग अनुरोध गरेका छन् ।

छलफल भए पनि रास्वपा र राप्रपाले आफ्नो अडानबाट पछाडि नहट्ने जवाफ सभामुखलाई दिएका छन् । उनीहरूले बालहठलाई नत्याग्ने चेतावनी दिएका छन् ।

संसदको अबरोध खुलाउन प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) सहमति भए पनि रास्वपा र राप्रपाले संसदमा नारावाजी र घेराउ गर्दै आएका छन् । उनीहरूले अध्यागमन कार्यालयका सहसचिवको गल्तीलाई गृहमन्त्री रमेश लेखकले जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । रास्वपा र राप्रपाको बालहठले गर्दा संसदको बैठकमा होहल्ला र नारावाजी हुँदै आएको छ ।

छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीको उपस्थिति रहेको छ ।

यसअघि, सभामुख घिमिरेले संसदको जारी अवरोधबारे सोमबार बिहान पनि रास्वपा कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग बालुवाटारमा छलफल गरेका छन् ।

Published : Monday, 2025 June 16, 12:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया