जग्गन्नाथले विमानस्थलमा माओवादी च्यापेपछि कांग्रेसी कर्मचारीहरूकाे पत्तासाफ, मन्त्री पाण्डे निरिह

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले कांग्रेस निकटका कर्मचारीहरूलाई दुःख दिएर पत्तासाफ पारेका छन् ।

आफूलाई कांग्रेस निकटको बताउने निरौलाले नेपाल नागरिक उड्डयन प्राधिकरणका विवादित महानिर्देशक प्रदीप अधिकारीसँगको मिलेमतोमा कांग्रेस निकटका कर्मचारीहरूलाई विमानस्थलबाट सरुवा गरेर अन्यत्र पठाउने गरेको आरोप छ । महानिर्देशक अधिकारी एमाले निकटका हुन् ।

विगतमा महानिर्देशक अधिकारी नेपाल ईञ्जिनियर एसोशिएसनमा एमालेको प्यानलबाट महासचिव पदमा उम्मेदवार बनेका थिए । कांग्रेसका उम्मेदवारसँग अधिकारी महासचिव पदमा पराजित भएका थिए ।

कांग्रेसको कोटाबाट ११ बाट १२ तहमा बढुवा भएको निरौलाले बताउने गरेका पनि छन् । निरौलाले माओवादी निकटका कर्मचारीहरूलाई आकर्षक मानिने शाखाहरूको जिम्मेवारी दिएको विमानस्थलका एक कर्मचारीले बताएका छन् ।

नेपाली कांग्रेसबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे छन् । पाण्डे नेता शेखर कोइरालाको गुटबाट मन्त्री बनेका हुन् ।

महाप्रबन्धक निरौलाले पनि आफूलाई शेखर कोइराला निकटको बताउने गरेको एक कर्मचारीले बताए । कतिसम्म भने महाप्रबन्धक निरौलाले आफूलाई शेखर कोइरालासँग जोडेर कुरा गर्ने पनि गर्छन् ।

मन्त्री कांग्रेसको हुँदा पनि कांग्रेस निकटका कर्मचारीहरूलाई विमानस्थलबाट धमाधम सरुवा गरेर हटाउँदा पनि मन्त्री पाण्डे निरिह बनेर बसेका छन् ।

उता, महानिर्देशक अधिकारीले पनि प्राधिकरणमा कांग्रेस निकटका कर्मचारीहरूलाई छानिछानी दुःख दिँदै आइरहेको कुरा मन्त्री पाण्डे र नेता शेखर कोइरालासम्म पुगेको छ । मन्त्री पाण्डे र नेता कोइराला महानिर्देशक अधिकारी र महाप्रबन्धक निरौला सामु निरिह बनेका छन् ।

महानिर्देशक अधिकारी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको झण्डै १५ अर्ब भ्रष्टाचारमा मुख्य नाइकेका रुपमा सार्वजनिक लेखा समितिबाट कारबाही सिफारिस भएका छन् । लेखा समितिले राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय छानविन उपसमिति बनाइ पोखरा विमानस्थलमा १५ अर्ब भ्रष्टाचार भएको ठहरसहित अख्तियारलाई छानविन गरी दोषी उपर कारबाही गर्न सिफारिस गरिसकेको छ । लेखा समितिले महानिर्देशक अधिकारीसहित निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक विनेश मुनाकर्मी, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, पूर्व महानिर्देशकहरू सञ्जीव गौतम र राजन पोखरेललाई कारबाही सिफारिस गरेको छ ।

महाप्रबन्धक निरौला पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सफ्टवेर १७ करोडमा खरिद गरेको घोटालामा मुछिएका छन् । १७ करोड घोटालाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निरन्तर बयान दिँदै आएका छन् ।

आफूलाई कांग्रेस दाबी गर्ने हो भने महाप्रबन्धक निरौलामा सुधार हुन जरुरी छ । सबैभन्दा पहिला कांग्रेस निकटका कर्मचारीहरूलाई सरुवा गरेर दुःख दिने कार्य तत्काल बन्द गर्नुपर्छ ।

त्यसपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको झण्ड १५ अर्ब भ्रष्टाचारमा सार्वजनिक लेखा समितिबाट कारबाही सिफारिस भएका महानिर्देशक अधिकारीलाई बचाउन हिँड्ने कार्य तत्काल बन्द गर्नुपर्छ । ढिलो चाँडो महानिर्देशक अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्ने पक्का जस्तै छ । त्यो अवस्थामा सबैभन्दा फाइदा निरौलालाई हुनेछ । होइन भने अधिकारीको चक्करमा लाग्दा निरौलालाई प्राप्त हुने अवसरहरू गुमाउने सम्भावना रहन्छ ।

१७ करोडको सफ्टवेर खरिद प्रकरणमा महाप्रबन्धक निरौला आफै पनि अख्तियारमा बयान दिँदै आएका छन् । अख्तियारले राडरभित्र राखेका निरौलाले बिचौलिया, दलाल र कमिशनखोरीहरूको संगत पनि छाड्नुपर्ने कांग्रेस निकट कर्मचारीहरूको सुझाव छ ।

माओवादी निकटका कर्मचारीहरूलाई च्यापेर कांग्रेस निकटका कर्मचारीहरूलाई विमानस्थलबाट साफ पार्दा निरौलाको भविष्य धेरै उज्वल छैन ।

महाप्रबन्धक निरौला विमानस्थलको भीआईपीमा कांग्रेस नेताहरू आउँदा चाकडी गर्न पुगेका हुन्छन् । तर, विमानस्थलमा कार्यरत कांग्रेस निकटका कर्मचारीहरूलाई भने देख्न सहदैनन् ।

महाप्रबन्धक निरौला, महानिर्देशक अधिकारी र एमालेका नेता योगेश भट्टराईबीच निकै उठबस र हिमचिम छ । उनीहरूको दैनिक सरह सम्वाद र भेटघाट हुने गरेका छन् । महानिर्देशक अधिकारीका सबैभन्दा नजिकका सल्लाहकार र सहयोगमा महाप्रबन्धक निरौला पर्छन् । १५ अर्ब भ्रष्टाचारमा आफू निलम्बनमा परेमा निरौलालाई महानिर्देशक बनाइदिन्छु भनेर अधिकारीले आश्वासन दिएका कारण प्रलोभनमा परेको हुन सक्ने चर्चा विमानस्थलमा छ ।

Published : Monday, 2025 June 16, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया