पोखरा १५ अर्ब भ्रष्टाचारका नाइकेका सहयोगी जगन्नाथको टीआईएमा बितण्डा, १७ करोडको सफ्टवेर घाेटलामा बयान

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा लेखापालको सामान्य पदबाट जागिर सुरु गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नागरिक उड्डयन कार्यालय (टीआईए) का महाप्रबन्धक जगन्नाथ निरौलाले बितण्डा मच्चाएको भनेर कर्मचारीहरू आजित बनेका छन् ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको झण्डै १५ अर्ब घोटाला, भ्रष्टाचारको नाइकेका रुपमा सार्वजनिक लेखा समितिबाट प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी कारबाही सिफारिस भएका छन् । महाप्रबन्धक निरौला महानिर्देशक अधिकारीका सबैभन्दा नजिकका सहयोगी हुन् । आफूलाई कांग्रेस भन्न रुचाउन निरौलाले एमाले निकटका अधिकारीलाई घोटालाहरूमा सहयोग गर्दै आएका छन् ।
लेखा समितिले राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय छानविन उपसमिति बनाइ पोखरा विमानस्थलमा १५ अर्ब भ्रष्टाचार भएको ठहरसहित अख्तियारलाई छानविन गरी दोषी उपर कारबाही गर्न सिफारिस गरिसकेको छ । लेखा समितिले महानिर्देशक अधिकारीसहित निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक विनेश मुनाकर्मी, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, पूर्व महानिर्देशकहरू सञ्जीव गौतम र राजन पोखरेललाई कारबाही सिफारिस गरेको छ ।
टीआईएमा प्राविधिक १२ तहको कर्मचारी अर्थात् उपमहानिर्देशक मात्रै प्रमुख रहने व्यवस्था छ । सहयोगी भएकै कारण अधिकारीले निरौलाका लागि त्यो व्यवस्थालाई लत्याएर महाप्रबन्धकको जिम्मेवारी दिएका थिए ।
हवाई सेवा जस्तो सम्वेदनशील क्षेत्रमा गैरप्राविधिक व्यक्तिलाई जिम्मेवारी दिँदा निरौला र अधिकारीको आलोचना भएको थियो । निरौलाले जिम्मेवारी सम्हाल्नेवित्तिकै दुई ठूला विमान दुर्घटना भइ जनधनको ठूलो क्षति भइसकेको छ ।
निरौलालाई हवाई सेफ्टी र सेक्युरिटीका बारेमा अनुभव र ज्ञान नरहेको हवाई विज्ञहरूले बताउँछन् । निरौलाको अनुभव भनेको लेखासम्बन्धी मात्रै हो ।
विमानस्थल प्रमुख भएपछि निरौलाले अनुत्पादक र औचित्यहीन कार्यमा मात्रै बजेट खर्च गरिरहेको आरोप छ । निरौलाको नेतृत्वमा १७ करोड बराबरको सफ्टवेर खरिद गरिएको २ वर्ष पूरा हुँदा पनि हालसम्म उक्त सफ्टवेर लागू हुन सकेको छैन । सफ्टवेर खरिदमा निरौलाले भ्रष्टाचार गरेको भन्दै कर्मचारीहरूले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । त्यसपछि निरौलाले अख्तियारमा निरन्तर बयान दिँदै आएका छन् ।
निरौलाले प्रतिस्पर्धालाई शंकुचनमा पारेर व्यावसायिक कारोबार समेत नमिलेका दलाल, बिचौलिया र ठेकेदारलाई फर्जी कागजपत्र तयार पार्न लगाई हाल विमानस्थलमा मसलन्द तथा छपाई, कार्यालयका अन्य सामाग्री, विज्ञापन खर्च, मर्मत सम्भार जस्ता कार्यहरू आफूसँग निकट रहेका व्यक्तिलाई मिलोमतोमा काम दिने गरेको आरोप छ । निरौलाका साझेदारी रहेका भनिएका निर्जला चौलागाईं, सती भट्टराई लगायतलाई कामै नगरी फर्जी कागजपत्र बनाएर खरिद कार्यमा संलग्न गराएको आरोप विमानस्थलका कर्मचारीहरूले लगाएका छन् ।
निरौलाको अनियमितता, भ्रष्टाचारजन्य कार्यहरूलाई खरिद इकाई प्राप्ति शाखामा आफ्नो पद, दरबन्दी नरहँदा पनि सरुवा भइसकेको माओवादी निकटकी राष्ट्रिय कर्मचारी संगठनमा आबद्ध छैटौँ तहको अधिकृत पद रहेको ठाउँमा आठौँ तहकी कृष्णकुमारी अधिकारीलाई राखिएको छ । कृष्णकुमारीमार्फत मिलेमतोमा सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ समेतलाई चुनौती दिँदै खरिद कार्यमा ब्रम्हलुट मच्चाएको विमानस्थलका कर्मचारीहरूले बताएका छन् ।
प्राप्ति शाखाकी उपप्रबन्धक कृष्णकुमारीको हवाई सुरक्षामा सरुवा भएको छ महिना भइसकेको छ । खरिदमा सेटिङ गरेर अकुत कमाई गर्नका लागि निरौलाको जोडबलमा कृष्णकुमारी प्राप्ति शाखामा नै तरमारेर बसेकी छन् ।
कृष्णकुमारीसँग कानूनी भाषा मिलएर टिप्पणी समेत लेख्ने क्षमता नरहेको कर्मचारीहरू बताउँछन् । बिचौलिया, ठकेदार र दाललहरूसँग सेटिङ गर्न तथा उनीहरूलाई काम दिएर कमिशन असुलउपर गर्न निरौलाको बिचौलियाको रुपमा प्राप्ति शाखामा नै थमाएर राखिएको आरोप छ ।
जहाँ प्राप्ति शाखाको प्रमुखको रुपमा खरिद विज्ञ, कानूनका ज्ञाता प्रमोद नेपाल कार्यरत छन् । प्रमोदले कानून विपरित र सेटिङमा काम गर्न अस्वीकार गरेपछि महाप्रबन्धक निरौलाले छैटौँ तहको अधिकृत रहनुपर्ने स्थानमा आठौँ तहमा रहेकी त्यो पनि सरुवा भइसकेकी कृष्णकुमारीलाई सेटिङका लागि राखेका छन् ।
अर्कोतर्फ सिभिल ईन्जिनियरिङ मर्मत महाशाखामा दशौँ तहको ईन्जिनियर प्रमुख रहनुपर्ने ठाउँमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा निर्माण गर्दा जग्गा अधिग्रहण तथा निर्माणमा अर्बौं भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन आयोजना प्रमुख प्रवेश अधिकारीलाई प्राधिकरणका महानिर्देशक अधिकारीको आदेशमा सिभिल ईञ्जिनियरिङ महाशाखाको प्रमुख बनाइ त्रिभवन विमानस्थलमा निर्माणका कार्यहरूमा समेत मिलेमतो र भ्रष्टाचारको श्रृङ्खला सुरु भएको आरोप कर्मचारीहरूले लगाएका छन् । करोडौंको बजेटलाई टुक्राटुक्रा पारेर सीमित ठेकेदार, विशेष गरी गेहेन्द्रबहादुर बुढाथोकी ‘बबिन’मात्र कोटेशनमा सेटिङ गरेर काम दिने गरिएको आरोप छ । बबिनले फर्जी फर्महरू खडा गरी बिल मात्रै बनाएर लाखौँ रुपियाँ भुक्तानी लिएर महानिर्देशक अधिकारी र महाप्रबन्धक निरौलालाई मोटो रकम कमिशन बुझाउने गरेको चर्चा प्राधिकरणभित्र व्यापक छ । यो विषयमा पनि केही कर्मचारीहरूले अख्तियारमा गुनासो पु¥याइसकेका छन् ।
प्राविधिक सेवा विभाग अन्तर्गत कार्यरत ईलेक्ट्रिकल ईञ्जिनियरहरू श्रवणकुमार यादव (माओवादी निकट), सुवास कोइराला (अध्यक्ष, राष्ट्रिय कर्मचारी संगठन, माओवादी), सञ्जयकुमार चौधरी, मेकानिल ईञ्जिनियर अनिलकुमार गुप्तालाई महाप्रबन्धक निरौलाले च्यापेर नक्कली ठेकेदारको रुपमा सिरहातिर घर भएका बिक्रम यादव भन्ने व्यापारीसँग मिलेमतो गरी टीआईएमा हुने ईलेक्ट्रिकल तथा मेकानिकलका कामहरू एकलौटी रुपमा एउटै ठेकेदारमार्फत कार्य गराइ अनियमितता तथा भ्रष्टाचार गरिरहेको आरोप छ ।
भ्रष्टाचार निवारण पहिलो संशोधन ऐन, २०८१ मूल ऐनको दफ (८) उपदफा (१) र (२)को घ(१) र घ(२) समेतलाई चुनौती दिएर सीमित व्यापारी तथा बिचौलियामार्फत मिलेमतो गरेर गराइएका कार्यहरू भ्रष्टाचारजन्य हुने हुनाले अख्तियारले समेत छानविन गर्नुपर्ने माग उठेको छ ।
सामान्य चप्पल लगाएर प्राधिकरणमा छिरेका समाचारमा उल्लेख भएका कर्मचारीहरू, महानिर्देशक अधिकारी र महाप्रबन्धक निरौलाको आशीर्वादले कराडौंको सम्पत्ति जोड्न सफल भएका छन् । यो विषयमा पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्नुपर्ने केही कर्मचारीहरूकै माग छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया