रास्वपाका सभापति लामिछानेविरुद्ध पर्सामा पनि ठगी र संगठित अपराधमा मुद्दा दर्ता

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपियाँ बिगो मागदाबीसहित पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय, पर्साले लामिछानेविरुद्ध सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गराएको हो । लामिछाने जिल्ला कारागार रुपन्देहीमा थुनामा छन् । उनीहरू विभिन्न जिल्लामा सहकारी ठगीमा मुद्दा चलिरहेको छ ।
वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर करिब १ महिनाअघि पर्सा प्रहरीले सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो । त्यसै आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाउपर जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।
१० करोडभन्दा बढी १ अर्बसम्म बिगो भएकाले लामिछानेलाई ६ देखि ८ वर्ष कैद सजाय पनि हुन सक्छ । लामिछानेमाथि संगठित अपराध निवारण ऐन बमोजिम थप सजायसमेत माग गरिएको छ ।
रास्वपाका सभापति लामिछानेलाई प्रचलित कानूनको अतिरिक्त ५० प्रतिशत थप सजाय पनि हुन सक्छ ।
सोही मुद्दामा छविलाल जोशीसँग ७ करोड २० लाख बिगो, सहकारी ऐनअनुसार बिगोबमोजिम सजाय र जरिवाना तथा संगठित अपराध नियन्त्रण ऐनअनुसार थप सजायसमेत माग गरिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सानो पाइलाबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपियाँ र नेचर हब्र्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपियाँ स्थानान्तरण भएको पाइएको थियो ।
सानो पाइला सहकारीबाट जति रकम विभिन्न व्यक्तिले लगेका छन् । त्योभन्दा बढी काठमाडौंमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था एक्लैले लगेको पाइएको थियो । सानो पाइलाबाट उक्त सहकारीको खातामा १ अर्ब १५ करोड ९१ लाख ४४ हजार ३ सय ९५ रुपियाँ ट्रान्सफर भएको छ ।
सानो पाइला सहकारीले स्थानीय ५ हजार ८ सय ७३ बचतकर्ताको कूल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपियाँ अपचलन गरेको प्रहरीले यकिन गरेको थियो ।
२०८० साउन २१ गते नाजनिन बेगमसहित ५२ बचतकर्ताले ४ करोड ३४ लाख २४ हजार २३ रुपियाँ सानो पाइला सहकारीले अपचलन गरेको दाबीसहित जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए ।
विशाल सहनी गोढीसमेत २ सय ७ बचतकर्ताले आफूहरूको ४ करोड ५८ लाख १४ हजार ४ सय २१ रुपियाँ अपचलन भएको दाबी सहित २०८० भदौ २२ गते जाहेरी दिएका थिए ।
२०८१ फागुन २ मा मनीषकुमार सिस्कासमेत १ सय ७९ बचतकर्ताले आफूहरुको २४ करोड ५८ लाख ३१ हजार ९ सय २८ रुपियाँ अपचलन भएको दाबीसहित जाहेरी दरखास्त दिएका थिए ।
संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरेको थियो । प्रहरीले सानो पाइला सहकारीको अडिट रिपोर्ट, डे बुक, भौचर, जीसीएस नामक सफ्टवेर आदि संकलन गरी सुक्ष्म अनुसन्धान गरेको थियो ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया