गम्भीर अपराधका विदेशी नागरिकहरू रविको पालामा सबैभन्दा धेरै उडेको गृहमन्त्री लेखकको खुलासा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गम्भीर अपराध लागेका विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्कालन गृहमन्त्रीको पालामा गएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमासमय लिएर बोल्दै लेखकले भने, ‘भरखरै एक जना माननीय सदस्यले विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर गएको कुरा उठाउनु भएको छ । मभन्दा पहिला यो पद (गृहमन्त्री)मा रहनु भएका माननीय मन्त्रीजीको बेलामा मभन्दा बढि मानिस विदेश यहि एयरपोर्टबाट बाहिर जानु भएको हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले गम्भीर अपराध लागेका विदेशी नागरिकहरू विमानस्थलबाट बाहिर गएको बताएका थिए । तत्कालीन गृहमन्त्री रवि लामिछानेको नाम नलिएर गृहमन्त्री लेखकले लामिछानेको पालामा सबैभन्दा धेरै गम्भीर अपराध लागेका विदेशी नागरिकहरू बाहिर गएको बताए ।

उनले भने, ‘म चुनौती दिएर माननीय सदस्यहरूलाई आग्रह गर्न चाहन्छु तपाईहरू नैतिकताको प्रश्न उठाउँदै हुनुहुन्छ । तपाईहरूसँग नैतिक बल छभने हिजो विदेश नागरिक विमानस्थलबाट गएका छन् । म नभएको बेला गएका छन् । उहाँमाथि तपाईले नैतिकताको प्रश्न उठाउनुभयो ?’

‘यो नियोजित ढंगले षड्यन्त्रमूलक ढंगले मेरो राजनीतिक चरित्रहत्या गर्नका लागि राजनीतिक प्रतिशोध गर्नका लागि उठाएका विषय हुन्,’ लेखकले भने, ‘यस्ता खालका निकृष्ट राजनीतिक पद्धति प्रक्रियाहरू र तपाईहरूका चाहनाहरू बन्द गर्नुस् ।’

गृहमन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट डीआईजीलाई सरुवा गरेर अनुसन्धान प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाए ।

लेखकले भने, ‘गृहमन्त्रीले अनुसन्धानलाई प्रभावमा पार्न अख्तियार दुरुपयोग अनुसन्धानमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई सुरुवा गर्‍यो भन्नेसम्मका कुरा उठे । एकजना डीआईजी त्यहिँ कार्यरत हुनुहुन्थ्यो । अर्को एसएसपी हुनुहुन्थ्यो । एसएसपीको प्रमोशन भएर डीआईजी हुनुभयो । अनि अख्तियारमा दुई जना डीआईजी भएपछि एकजना मान्छेलाई सार्नु परेन ? के तपाई भएको भए दुई जना डीआईजी राख्नु हुन्थ्यो । एकै ठाउँमा दुई जना डीआईजी हुँदा एकजना डीआईजीलाई प्रतिस्थापन गर्दा त्यसमा पनि मेरो नियतमा प्रश्न उठाएर जुन कुरा गरिएको छ त्यो प्रतिशोधको राजनीति बाहेक केही होइन ।’

उनले भने, ‘माननीय सांसदजीहरू यदि धैर्यता छभने एउटा प्रश्नको जवाफ चाहन्छु । आज होइन भोलि दिनु होला । तपाईहरूले मानव तस्करीको विषय उठाउनुभएको छ । आजभन्दा १८ वर्षभन्दा पहिला २०६२/६३ को जनआन्दोलन लगत्तै बनेको स्व.गिरिजाप्रसाद कोइराला आदरणीय नेताको क्याबिनेटमा म श्रममन्त्री थिएँ । मैले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नका वैदेशिक रोजगार ऐन २०६४ यहि हातले मैले ड्राफ्ट गरेको हो । आजसम्म, १८ वर्षसम्म त्यो ऐनले काम गरिरहेको छ । म श्रममन्त्री हुँदा ४ वटा देशसँग श्रम सम्झौता गरेको छु । दक्षिण कोरिया, संयुक्त अरब ईमिरेटस्, कतार र बहराइनसँग सम्झौता मैले गरेको हो ।’

Published : Friday, 2025 June 13, 11:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया