कीर्ते र ठगीमा सभापति रवि जेलमा, रास्वपा कार्यालयमा कीर्ते धन्दा, संलग्नमाथि कारबाही हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणममा गृहमन्त्री रमेश लेखकविरुद्ध कुनै तथ्य र प्रमाण नदेखिएपछि पार्टी कार्यालय, बनस्थलीमा नक्कली पीडितहरू खडा गरेर कीर्ते उजरी दिने काम गरेको खुलासा भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री लेखकले आफूविरुद्ध रास्वपाले गरिरहेको कीर्ते धन्दाको पर्दाफास गरेका छन् ।

रास्वपाको पार्टी कार्यालय बनस्थलीमा तयार गरिएको तथाकथित जाहेरी बोकेर मंगलबार गोरखाका मनोज गुरुङसहितको टोली गृहमन्त्री लेखकविरुद्ध उजुरी दिन अख्तियार पुगेको खुलेको छ । रास्वपाका नेताहरूले नक्कली पीडित खडा गरेर गृहमन्त्री लेखकविरुद्ध प्रोपागाण्डा मच्चाउने र कीर्ते पीडित खडा गरेर उजुरी खडा गर्ने निच हर्कत गरेको पुष्टि भएको छ ।

प्रधानमन्त्री कार्यालय र संसद् सचिवालयमा पनि रास्वपा कार्यालयमा तयार भएको तथाकथित पीडितले नै उजुरी दिएको पाइएको छ ।

रास्वपाको कीर्ते धन्दामा संलग्नमाथि कारबाहीका लागि गृह प्रशासन तयारी थालेको छ । त्यसको संकेत संसदमा गृहमन्त्री लेखकले गरेका छन् । लेखकले भने, ‘केही पार्टीका कार्यालयहरूमा नक्कली तथाकथित पीडितहरूलाई बोलाएर जाहेरी लेखेर मेराविरुद्धमा विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइराखेका छन् । कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ ।’

‘यस्ता कीर्ते, जालसाझी र अमर्यादित कार्य गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने काममा नलाग्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु,’ लेखकले चेतावनी शैलीमा भने ।

कीर्ते, जालसाझी र अमर्यादित गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने गृहमन्त्री लेखकको चेतावनी थियो । ‘यस्ता अपमानजनक कार्यहरू, कीर्ते जालसाझ गरेर नक्कली पीडित खडा गर्ने मानिसहरूको पत्ता लगाएर कारबाही गरिनेछ,’ लेखकले चेतावनी दिँदै भने, ‘तपाईका पार्टी कार्यालयहरू कीर्ते र नक्कली पीडितहरू खडा गर्ने पार्टी कार्यालय बन्दैछन् । यसमा तपाईंहरू सचेत हुनुस् । किनभने तपाईंहरू सम्भावना बोकेको हुनुहुन्छ ।’

‘अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनि गरिएको प्रचार प्रसार समाज र सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन,’ लेखकले भने, ‘उक्त कार्यमा मेरो संलग्नता छैन, हुन सक्दैन भन्ने कुरा सम्मानित सदनमा जानकारी गराउन चाहन्छु ।’

आफ्नाविरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक रुपमा आक्रमण गर्ने प्रयत्न भएको भन्दै संवैधानिक निकायले छानबिन गरिराखेको विषयलाई मन्त्रीसँग जोडेर जवाफ दिने हो भने हिजो कति मन्त्रीहरूले जवाफ दिनुभएको थियो ? भन्दै गृहमन्त्री लेखकले प्रतिप्रश्न गरेका छन् ।

सहकारी ठगी, कीर्ते र संगठित अपराधमा रास्वपाका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने रुपन्देही जिल्ला कारागारमा थुनामा छन् । रास्वपाले अहिले पनि कीर्ते र ठगीको धन्दा चलाइरहेको छ ।

Published : Friday, 2025 June 13, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया