कांग्रेस, एमाले र माओवादीबीच संसद खोल्ने सहमति, एक्लियो रास्वपा

काठमाडौं । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच अवरुद्ध संसद खुलाउने विषयमा दुई बुँदे सहमति भएको छ ।

शुक्रबार संसद भवनमा बसेको ३ दिनको बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर अवरुद्ध संसद् खोल्नेबारे दुई बुँदे सहमति भएको हो ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणको छानबिन र अध्ययन गर्न उपयुक्त संयन्त्र गठन गर्ने गरी दुई बुँदे सहमति भएको बताए ।

सहमतिसँगै प्रतिनिधिसभामा जारी अवरोध हटाउने समझदारी भएको छ ।

एमाले मुख्य सचेतक महेश बर्तौला र प्रमुख प्रतिपक्ष माओवादी प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

सत्तारूढ दलहरू र प्रमुख प्रतिपक्षको सहमतिमा विपक्षी रास्वपाले विरोध गरेको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा जेठ १३ देखि निरन्तर अवरुद्ध हुँदै आएको छ ।

रास्वपाले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको मागसहित पाँचबुँदे प्रस्ताव ल्याएको छ ।

कांग्रेस र एमालेले उक्त प्रस्ताव स्वीकार्न नसकिने बताउँदै आएका छन् । ३ दलबीच सहमति भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लिएको छ ।

पहिलो बुँदामा भनिएको छ, ‘भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुयाउने नै छ । उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरेबमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।’

‘अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानविन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने,’ दोस्रो बुँदामा भनिएको छ ।

Published : Friday, 2025 June 13, 4:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया