के कुरा भएको थियो परराष्ट्रमन्त्री र शोभाबीच ? डा.राणाद्वारा सत्यकुरा सार्वजनिक

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग हिजो भएको कुराकानीलाई धम्कीपूर्ण भनेर समाचार प्रकाशित भएकोमा आश्चर्यचकित परेको बताएकी छिन् ।

शुक्रबार परराष्ट्रमन्त्री डा.राणाले खण्डन प्रकाशित गरेर भनेकी छिन्, ‘नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग हिजो (आइतबार) भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भनी उनको पत्रिका नागरिक दैनिकमा समाचार प्रकाशित भएको देखेर आश्चर्य चकित भएकी छु ।’

उनले भनिन्, ‘हाम्रो परिवारलाई बदनाम गराउने दुसित मनासय सहित सामाजिक संजालमा आएको एक तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणमा बारेमा उहाँसँग कुराकानी भएको हो ।’

‘उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानून अनुसार नै न्याय खोजेका हौँ,’ डा.राणाले भनिन् ।

परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘उक्त भ्रामक भिडियो पोष्ट गर्ने विरुद्द अदालतले पक्राउ पूर्जी जारी गरेको छ र कानूनले जे सजाय दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो । यसै विषयमा मैले उहाँलाई जानकारी गराएको थिएँ,’ उनले भनिन् ।

‘बरु मैले म आफू नियमित पाठक रहेको न्यूयोर्क टाइम्सजस्तो मिडियाको सहयात्री प्रकाशनले पनि सोही भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएकी हुँ,’ डा.राणाले भनिन्, ‘तर हामीबीच भएको फोन संवादलाई तोडमोड गरेर उहाँले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ ।’

डा.राणाले भनिन्, ‘नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढि संघर्ष गरेको नेपाली कांग्रेसको योगदानलाई कसैले बिर्सन मिल्दैन । म सोही पार्टीको एक जिम्मेवार सदस्य भएकाले मलाई प्रेस स्वतन्त्रताका बारेमा राम्ररी थाहा छ ।’

‘तर मिडियाको सबैभन्दा ठूलो पक्ष जिम्मेवारीबोध र विश्वसनीयता गुमाउनुहुँदैन भन्ने मेरो धारणा हो,’ डा.राणाले भनिन्, ‘लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्छ भन्ने मेरो धारणा हो ।’

उनले भनिन्, ‘स्वभावैले मिडिया पीडितमैत्री हुन्छ भन्ने मेरो बुझाई हो । यसैका आधारमा राखिएका कतिपय धारणाहरूलाई प्रेसले धम्कीपूर्ण भाषाका रुपमा बुझ्नु दुःखद् हो ।’

Published : Friday, 2025 June 13, 10:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया