दर्ता नै नगरी युट्युबबाट चरित्रहत्या गर्ने दिलभुषण फरार, दुई दिनसम्म पक्राउ गर्न प्रहरी असफल

काठमाडौं । दर्ता नै नगरेर युट्युब सञ्चालन गरी विभिन्न व्यक्तिहरूको चरित्रहत्या गर्ने पत्रकार दिलभुषण पाठकलाई दुई दिनदेखि प्रहरीले फेला पार्न सकेको छैन ।

साइबर अपराधको कसूरमा पक्राउ पुर्जी जारी भएका पाठकलाई प्रहरीले दुई दिन हुँदा समेत पक्राउ गर्न सकेको छैन । अपराध अनुसन्धानमा अब्बल मानिने प्रहरीले किन पाठकलाई पक्राउ गर्न सकिरहेको छैन प्रश्न उठेको छ । पक्राउ पुर्जी जारी हुनुभन्दा दुई दिन अगाडि मात्रै पाठकले प्रहरीका उच्च अधिकारीहरूलाई तालिम दिएका छन् । तालिम दिएर सामूहिक तस्बिर पनि खिचाएका पाठक एकाएक कहाँ बेपत्ता भएका प्रहरीले सईको समेत पाउन सकेको छैन ।

पत्रकार पाठक घरमा पनि छैनन् । पाठक भूमिगत भएका छन् । पत्रकार पाठकविरुद्ध अदालतबाट पक्राउ पुर्जीको आदेश लिनुभन्दा अगाडि प्रेस काउन्सिल नेपालबाट पाठकले सञ्चालन गरेको युट्युब दर्ता भएको छ वा छैन भनेर पत्राचार भएको थियो । पाठकले सञ्चालन गरेको युट्युब दर्ता नभएको जानकारी प्रेस काउन्सिलले गराएपछि साइबर व्यूरोले कानूनअनुसार कारबाहीका लागि अदालतबाट पक्राउ पुर्जी लिएर कारबाही गर्न लागेको हो ।

पत्रकार हुँभन्दैमा व्यक्तिगत चरित्रहत्या हुने गरेर युट्युबबाट जथाभावी भ्रामक कुराहरू सार्वजनिक गर्ने अधिकार कसैलाई पनि छैन । पत्रकारआचार संहिता विपरितको पाठकको कार्यको नेपाल पत्रकार महासंघसहितका केही सञ्चारमाध्यमले बचाउ गरेपछि प्रश्न उठेको छ ।

पाठकले दर्ता नै नगरेर युट्युब सञ्चालन गरेर प्रधानमन्त्रीदेखि विभिन्न व्यक्तिहरूको चरित्रहत्या गर्दै आएका थिए । प्रहरीको साइबर व्यूरो, भोटाहिटीमा जोहरी परेपछि पाठकलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट प्रहरीले अनुमति लिएको छ ।

पाठकसँग अहिले कुनै मिडियामा छैनन् । उनले टफ टक नामक युट्युबमार्फत भिडियो बनाउने र त्यही प्रसारण गर्ने गर्दछन् । यसरी नै उनले सधैँ कसै न कसैलाई गाली गलौज गर्ने र दोषारोपण गरेर आफ्नो भ्युअर बढाउने काम गर्दै आएका छन् ।

पाठकको भिडियोको पछिल्लो श्रृंखलाले विवादमा तानेको छ । उनले हिल्टन होटल र त्यतिमात्र नभएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीर सिंह देउवासँग जोडेर बनाएको भिडियोले पाठकलाई समस्यामा पारेको हो ।

भिडियामा पाठकले समाचार दिएको भनिए पनि त्यसमा सबै अफवाह मात्र रहेको छ । पाठकले भिडियो बनाउँदा कुनै ख्याल गरेका छैनन् ।

पाठकले हिल्टन होटल जयवीरले किनेको भनेका छन् । यो विषय कतै समाचार आएको विषय होइन र केही व्यक्तिले फेसबुकमा लेखेका हुन् । त्यस कुरालाई होटलले नै विज्ञप्ति निकालेर सो होटलले अहिलेसम्म कसैलाई पनि सेयर बिक्री नगरेको भनेर स्पष्ट गरिसकेको छ ।

पाठकले सोही विषयलाई पटक पटक जोड दिएर प्रचार गरिरहेका छन् । पाठकले जयवीरसँग रिस नै पोख्ने शैलीमा दुई बर्षअघिको बजेटमा रातारात करका दर फेर्न दबाब दिएको भनेर आरोप लगाएका छन् । जुन कुरा न कहिल्यै समाचारमा आएको थियो । नत जयवीर यस्तो काममा संलग्न भएको प्रमाण त्यतिबेलै गठन भएको छानबिन समितिले नै कतै इंगित सम्म गरेको छ ।

पाठकले दुबईमा जयवीरको रियल स्टेट बिजनेस भएको बताएका छन् । त्यो सूचना पाठकले जयवीरले नजिकबाट चिन्नेहरूको हवाला दिएका छन् । पाठकले न त्यो व्यक्ति को हो भनेर नाम उल्लेख गरेका छन् । नत दुबइको रियल स्टेट कुन हो भन्न सकेका छन् ।

यदि त्यहाँ कुनै रियल स्टेट छ भने त्यो कुन हो भनेर नाम दिन नसक्दा यो सूचना पनि सत्य हुने कुरा भएन । केही समयअघि दुर्गा प्रसाईंले केपी ओलीको कम्बोडियामा अरबौँको लगानी छ भनेर हावादारी समाचार बनाएजस्तै छ ।

उनले त्यो रियल स्टेट बिजनेस अष्ट्रेलिया र क्यानाडासम्म पनि चलेको बताएका छन् । त्यसमा पाठकले नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ र अर्का एक सदस्य दीपक भट्टलाई पनि मुछेका छन् । यति गम्भीर व्यवसायमा कुनै व्यक्तिलाई मुछेर भिडियो बनाउँदा पनि उनले स्रोतका रुपमा ‘बताइन्छ’ भन्ने जस्तो गैरजिम्मेवार शब्द प्रयोग गरेका छन् ।

होटल सञ्चालक शंकर ग्रुपले भने होटलको सेयर कसैलाई पनि बिक्री नगरिएको स्पष्टसँग विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

Published : Wednesday, 2025 June 11, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया