विद्या भण्डारीद्वारा एमालेको अध्यक्ष बन्ने संकेत, पहिलो पटक कांग्रेस-एमाले सरकारको आलोचना

विराटनगर । एमालेकी नेतृ समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस र एमालेको गठबन्धनको सरकारप्रति असन्तुष्टि जनाएकी छिन् ।

शुक्रबार विराटनगरमा स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनलाईसम्बोधन गर्दै भण्डारीले गठबन्धनका कारण महिला नेतृत्वमा कमी देखिएको बताएकी हुन् । उनले आफू पार्टी अध्यक्ष बन्ने समय आउनेसमेत बताएकी छिन् । पार्टी अध्यक्ष कहिले बन्नुहुन्छ ? भनेर सोधिएको प्रश्नको जवाफ दिँदै पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘समय आउला नि ।’ उनले आफू सक्रिय राजनीतिमै रहेको समेत स्पष्ट पारेकी छिन् ।

उनले राजनीतिक दलहरूले लोकतान्त्रिक मूल्य र समावेशीताको संरक्षण गर्न महिला नेतृत्वमा ध्यान दिन आवश्यक रहेको बताएकी छिन् ।

एमालेको राजनीतिमा सक्रिय हुन थालेकी भण्डारीले पहिलो पटक कांग्रेस–एमाले गठबन्धनको सरकारविरुद्ध सार्वजनिक रुपमा अभिव्यक्ति दिएकी छिन् । एमालेभित्र भण्डारीले आफ्नै गुट सञ्चालन गर्दै आएकी छिन् ।

जनप्रतिनिधिले विकास निर्माण र आर्थिक समृद्धितर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको भण्डारीले बताइन् । संघ, प्रदेश तथा स्थानीय तहका सबै निकायहरूबीच समन्वय गरी जनताको आवश्यकतालाई सम्बोधन गर्ने खालको कार्यक्रम तथा नीतिलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताएकी छिन् ।

Published : Friday, 2025 June 6, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया