एमालेबाट निर्वाचित सूर्यविनायकका नगरप्रमुख पनि पतञ्जलि घोटालामा संलग्न, भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा घोटाला प्रकरणमा भक्तपुरको सूयविनायक नगरपालिकका नगरप्रमुख वासुदेव थापाविरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

हदबन्दीभन्दा धेरै जग्गा खरिदबिक्रीमा संलग्नता देखिएपछि आयोगले नगरप्रमुख थापालाई पनि अख्तियार प्रतिवादी बनाएको छ ।

जग्गा गैरकानूनी रुपमा खरिदबिक्रीमा संलग्न रहेको भन्दै आयोगले थापाविरुद्ध भ्रष्टाचारको मुद्दा चलाएको छ ।

अख्तियारले विशेष अदालतमा बिहीबार भ्रष्टाचारको मुद्दा दायर गरेपछि थापा नगरप्रमुख पदबाट स्वतः निलम्बनमा परेका छन् ।

नगरप्रमुख थापाले पतञ्जलि योगपीठसँग जग्गा खरिद गरेका थिए । हदबन्दीभन्दा धेरै जग्गा खदिरबिक्री गर्न नपाइने जान्दा जान्दै नगरप्रमुख थापाले जग्गा खरिद गरेको पाइएपछि प्रतिवादी बनाइएको छ ।

पतञ्जलिको जग्गा घोटाला गर्ने समूहसँग नगरप्रमुख थापाको साँठगाँठ रहेको आयोगको निष्कर्ष छ ।

सरकारको नाममा आउनुपर्ने काभ्रेपलाञ्चोकको साँगास्थित सात रोपनी आठ आना एक पैसा जग्गा हाल मेयर थापाको नाममा छ ।

अख्तियारले बिहीबार जग्गा घोटालाको भ्रष्टाचार प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

थापा एमालेबाट सूर्यविनायक नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका थिए । थापाले पतञ्जलिको सो जग्गा कमिशन वापत पाएको हुन सक्ने अख्तियारको अनुमान छ ।

सूर्यविनायक नगरपालिकका प्रवक्ता एवम् वडा नं. ७ का वडाध्यक्ष रविन्द्र थापाले नगरप्रमुख थापालाई पतञ्जलिको जग्गा घोटालाका विषयमा बुझ्न बाँकी रहेको बताउँदै जग्गा फिर्ता गर्नु पर्ने भनेर आफूले सुनेको प्रतिक्रिया दिएका छन् । नगरप्रमुख थापालाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गर्दा समेत नगरपालिकका प्रवक्ता अहिलेसम्म बुझ्नु छभन्दै पत्रकारहरूसँग तर्किएर हिँडेका छन् ।

Published : Friday, 2025 June 6, 12:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया