कम क्षतिमा स्थिति नियन्त्रणमा, सभास्थल नगएर प्रहरीतिर आएपछि तलमाथि भयाे : आईजीपी अर्याल

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले राजावादीहरूको आन्दोलनका प्रदर्शनकारीहरूले सुरक्षाकर्मीहरूको संयमताका कारण कम क्षति भएको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आईजीपी अर्यालले राजावादीहरूले अवरोध गरेर ग्याँस गन लुटेको बताए । उनले ग्याँस गन लुटपाट हुँदा समेत सुरक्षाकर्मीले संयमता अपनाएको बताए ।

कम क्षतिमा स्थिति नियन्त्रणमा लिने प्रयास भएको अर्यालले बताए । ‘सुरुमा नै सभास्थलमा नगएर प्रहरीकोमा आएपछि तलमाथि भएको हो’, उनले भने, ‘सुरक्षा फौजले न्यून क्षतिमा गरेको हो । बल प्रयोग आवश्यकताका आधारमा भएको छ ।’

‘यस्तो अवस्थामा प्रश्न उठ्न जरुरी छ । कम क्षतिमा काम गर्ने प्रयास गरेका छौं’, उनले भनेका छन् ।

आईजीपी अर्यालले तीनकुने घटनाका क्रममा आगलागी भएको भवनमा पटक पटक पुग्दा पनि सुरेश रजक नभेटिएको बताएका छन् । उनले भने, ‘आगलागी भएको भवनको तीन तलासम्म पुग्दा चौथो तलामा ताला लगाइएको रहेछ । धेरै पटक पुग्दा पनि भेटिएन ।’

‘दमकलमा नै आगो लगाउने प्रयास गर्दा समस्या भयो । भित्र मान्छे छ भन्ने आशा गरिएन’, उनले भने, ‘तल आउँदा पनि निस्सासिएको अवस्था थियो ।’

उनले भने, ‘मृत्यु भएको शव निकाल्न त जोखिम मोलेर गरिने गरेको छभने जीवित छ भन्ने थाहा भएको भए उद्धारमा नजाने भन्ने कुरै हुँदैन ।’

Published : Friday, 2025 April 4, 4:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया