स्वास्थ्य बीमा राम्रो हो, प्रभावकारी कार्यान्वयन भएन : कांग्रेस सांसद बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमाको कार्यक्रम प्रभावकारी ढङ्गले लागू हुन नसकेको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावको छलफलमा सहभागी हुँदै सांसद बस्नेतले स्वास्थ्य बीमाको अबधारणा राम्रो भए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुनमा समस्या रहेको बताए । उनले बीमा बोर्डले आफू निकटका अस्पताललाई बीमाको रकम दिए पनि मन नपरेका अस्पतालले बीमाको रकम नदिएको बताए ।
बस्नेतले भने, ‘हाम्रो जस्तो देशमा स्वास्थ्य बीमाको अबधारणा एकदमै राम्रो हो । यसलाई शुरुवातको अवधिदेखि नै कार्यान्वयन प्रभावकारी ढंगले हुन सकेको छैन । बीमामा पर्याप्त बजेट छैन । भएको बजेट पनि कार्यान्वयन गर्नु पक्षले कार्यान्वयन इमान्दारीपूर्वक नगरेको अवस्था पनि हो ।’
‘म स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमामा पैसा बढाऔँ भनेर अर्थ मन्त्रालयमा प्रस्ताव राखेको थिएँ । जति कुरा गरे पनि बजेट चाहियो नि । १ लाखको बजेटको कुरा गर्दा पनि अहिले जम्मा साढे सात अर्ब पैसा छ जस्तो लाग्छ । यो आफैमा घाटा बजेटमा छ । डबलभन्दा बढि घाटा बजेटमा छ ।’
‘बाँकी पैसा कसरी जुटाउने हो ? मैले धेरै कराएपछि १२ अर्ब र ४ अर्बलाई १६ अर्ब पैसा मैले थपेर लिएर गएँ अर्थ मन्त्रालयबाट । अरु पैसा दिन तयार भयो अर्थ मन्त्रालय तर, सुर्तीजन्य पदार्थमा ट्याक्स बढाउन तयार भएन । अहिले बढाएको जुन कुरा हो, त्यो गफ मात्रै हो’, उनले भने ।
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद बस्नेतले भने, ‘सुर्तीजन्य पदार्थमा ट्याक्स बढाएर त्यसबाट आएको पैसा बीमामा राखिदियो भने यसले धेरै महत्वपूर्ण काम गर्न सक्छ । ठूलो स्रोत हुन सक्छ ।’
‘बीमाको भएको पैसा पनि, यो बीमा बोर्ड भन्ने एउटा यस्तो संस्था गजब रहेछ । आफूलाई स्वायत्त संस्था भन्दो रहेछ’, उनले भने, ‘कसैले भनेको नमान्ने । देशभरि म मन लागेका अस्पताललाई तुरुन्त पेमेन्ट गरिदिने, बीमाको बजेट । नलागेकालाई करोडौं करोड त्यत्तिकै दिन बाँकी राखेर हैरान पार्ने ।’
पाल्पा लगायतका जिल्लाका अस्पतालमा बीमा बोर्डले बीमाको रकम नदिँदा आफू मन्त्री भएको बेला बीमा बोर्डको सीइओ हटाएर पनि बीमाको रकम दिन लगाएको बस्नेतले बताए ।
‘१ लाखको बीमा पनि कार्यान्वयन गर्न सकिरहेका छैनौँ । केही भएको छैन । गलत प्रेस्क्रिप्सन बनाएर पैसा असुल्ने काम भइरहेको छ । खुरुखुरु पैसा लिने भएको छ’, सांसद बस्नेतले भने ।
कांग्रेस सांसद बस्नेतले सामुदायिक र निजी अस्पतालहरूले १० प्रतिशत गरिब र बिपन्न समुदायलाई निःशुल्क उपचार गर्ने व्यवस्थालाई लागू गर्नुपर्ने बताए । उनले १० प्रतिशत उपचार गर्ने हो भने धेरै हदसम्म गरिब र बिपन्न जनताले स्वास्थ्य उपचार पाउने बताए ।
‘सामुदायिक र प्राइभेट अस्पतालले स्वीकृति लिने बेला १० प्रतिशत निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था छ । सबैले गरिब र बिपन्नलाई निःशुल्क उपचार गर्नुपर्ने कुरा स्वीकृति लिने बेलामा त्यो प्रावधान छ । तर, लागू भएको छैन । थोरै सरकारी अस्पतालले बाहेक कसैले लागू गरेको छैन । मैले कठोरतापूर्वक लागू गरिदिएको थिएँ’, उनले भने ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया