लुम्बिनी विकास कोषद्वारा लुम्बिनी सांस्कृति नगरपालिकाका जनप्रतिनिधिसँग छलफल

लुम्बिनी । लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण एवं थप पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी विकास कोषले लुम्बिनी सांस्कृति नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ ।

आइतबार लुम्बिनीमा भएको छलफलका सहभागीहरुले लुम्बिनी पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिकोणले नेपालको अमूल्य सम्पत्ति रहेकाले यसको विकास, संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार र कोषबीच सहकार्य गर्नुपर्नेको बताएका छन् ।

कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले लुम्बिनीको विकास र संरक्षण आफूहरूले मात्रै गरेर नहुने जनाउँदै स्थानीय सरकार, लुम्बिनीका स्थानीय बासिन्दाको साथ र सहयोग आवश्यक भएको बताए । उनले कोषको वर्तमान पदाधिकारी स्थानीयवासीको सवालमा संववेदनशील रहेको जनाउँदै लुम्बिनीलाई बौद्धमार्गी र विश्वशान्तिका अनुयायीहरूको थलोका रूपमा विकास गर्नुपर्ने बताए । उनले स्थानीय तहका जनप्रतिनिधिले लुम्बिनीलाई साँच्चिकै शान्तिस्थलका रूपमा विकास गर्न सहयोग गर्नुपर्ने बताएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले कोष र स्थानीय सरकारबीच सहकार्यको वातावरण बढाउनुपर्ने बताइन् । उनले कोषले स्थानीय सरकारसँग समन्वय र सहकार्यमा कन्जुस्याइँ गरेको बताउँदै अब सहकार्य गरेर स्थानीयवासीको मागलाई समयमै सम्बोधन गरेर अगाडि बढ्न सुझाव दिइन् ।

कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत भएको स्थल र विश्वका बौद्धमार्गीका आस्थाको केन्द्र भएकाले लुम्बिनीका विषयमा सबैपक्ष संवेदनशील हुनुपर्ने बताएका छन् ।

उनले युनेस्कोले खतराको सूचीमा नराख्ने निर्णय भएपनि यसको संरक्षणका लागि कोषसँगै स्थानीय सरकार र स्थानीयवासीले सहयोग गर्ने बताएका छन् ।

छलफलमा भन्ते विवेकानन्द, सूचना तथा जनसम्पर्क प्रमुख डा.हरिध्वज राई, विहारका प्रतिनिधिले लुम्बिनी क्षेत्रको विकासमा जोड दिएका छन् । लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक, कोषका विभागीय प्रमुख, विहारका प्रतिनिधिको उपस्थिति थियो ।

छलफलमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडाअध्यक्षहरूले लुम्बिनी सांस्कृतिक नगरपालिकासँग कोषले सहकार्य नगरेको गुनासो गरेका थिए ।

Published : Monday, 2024 August 5, 8:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया