बजगाईं हत्यामा संलग्न सुनिल-प्रनिसा पक्राउ, राति विवाद भएपछि पति-पत्नी मिलेर हत्या

विराटनगर । धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मोरङ जिल्लाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सुन्दरहरैंचा नगरपालिका–९ बस्ने ४९ वर्षीय सहदेव बजगाईंको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–४ हाटखोला घर भएका ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकै श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटी रहेको शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सुन्दरहरैंचा नगरपालिका–१ कुमारगाउँस्थित आफ्नै कुखुरा फर्ममा सहदेव बिहीबार बिहान मृत अवस्थामा फेला परेका थिए ।

घटनाको अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उक्त फर्ममा काम गर्ने सुनिल र उनकै श्रीमतीलाई पक्राउ गरेको थियो ।

प्रारम्भीक अनुसन्धानको क्रममा बुधबार राति फर्म संचालक र सुनिलबीच पारिश्रमिकको विषयमा भएको विवादको कारण उनीहरूले बन्चरो र फलामको दाउ प्रहार गरी सहदेवको हत्या गरेको खुल्न आएको छ ।

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

Published : Saturday, 2024 July 13, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया