बाढीबाट भएको जनधनको क्षतिप्रति कांग्रेस नेता चौधरीद्वारा दुःख व्यक्त, उद्धारमा खटिन अपील

घोराही । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अविरल वर्षाका कारण दाङसहित लुम्बिनी प्रदेशभित्रका जिल्लाहरूमा जनधनको क्षति भएको भन्दै मिलेर विपतको सामना गर्न आग्रह गरेका छन् ।

शनिबार नेता चौधरीले प्रेस वक्तव्य जारी गरेर प्राकृतिक विपदको समय सबै मिलेर प्रतिकार्यमा जुट्नु पर्ने बताए । चौधरीले अविरल वर्षाले हुन सक्ने दुर्घटनाप्रति सतर्क रहन सबैमा अपील गरेका छन् ।

उनले विपतको अवस्थामा सम्पूर्ण सर्वसाधारण, सुरक्षानिकाय लगायतलाई सजग र तर्सक बन्न अनुरोध गरेका छन् ।

नेता चौधरीले दाङसहित लुम्बिनी प्रदेशभित्रका विभिन्न जिल्लामा बाढी, पहिरो र डुवानमा परी ज्यान गुमाएका नागरिकहरूप्रति गहिरो दुःख व्यक्त गरेका छन् । नेता चौधरीले उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीयहरूलाई धन्यावाद समेत दिएका छन् ।

उनले समस्यामा परेका नागरिकहरूको उद्धारका लागि सहयोगमा जुट्न सबैलाई अपील गरेका छन् । उनले बाढीपहिरोबाट घाइतेहरू भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

चौधरीले बाढी, पहिरोमा परी बेपत्ता भएकाहरूको उद्दारमा तदारुकता दिन राज्य संयन्त्रहरूलाई आग्रह गरेका छन् ।

साथै उनले बाढीपहिरोको चपेटामा परेका सर्वसाधारणलाई बसोबास र राहतको उचित व्यवस्थापन गर्न पनि माग गरेका छन् ।
दाङमा बाढीको चपेटामा परेर एकजनाको मृत्यु भएको छभने दुई जना बेपत्ता भएका छन् ।

Published : Saturday, 2024 July 6, 6:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया