गृहमन्त्री लामिछानेले आफ्ना वकिलका भान्जालाई २ दिनका लागि एआइजी बनाउन सकेनन्

काठमाडौं । सरकार अल्पमतमा परेपछि दुई दिनका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बन्न खोजेका प्रहरी नायव महानिरीक्षक (डीआइजी) पोषराज पोखरेलको अवकास भएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा आइजीपी बसन्तबहादुर कुँवरले अवकासमा जान लागेका डीआइजी पोखरेललाई विदाए गरेका छन् ।

गृहमन्त्री रवि लामिछानेको मुद्दामा बहस गर्दै आएका अधिवक्ता सुशील पन्तका भान्जा पर्ने पोखरेललाई दुई दिनका लागि एआइजी बनाउन पहल भएको थियो । मन्त्रिपरिषदले पोखरेललाई बढुवा गर्ने निर्णय नगरेछि शुक्रबार राति १२ बजेबाट अवकाशमा जान लागेका छन् ।

असार १० गते गृह मन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआइजी बढुवाका लागि सिफारिस गरेको थियो ।

सरकार अल्पमतमा नपरेको भए मन्त्रिपरिषदले पोखरेललाई दुई दिनका लागि एआइजीमा बढुवा गर्ने तयारी गरेको थियो ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पोखरेलको बढुवाबारेमा निर्णय हुन सकेन ।

बढुवा भएको भए पोखरेल असार १९ र २० गते दुई दिनका लागि एआइजी हुने थिए । २ दिनका लागि बढुवा भएको भए राज्यलाई आर्थिक भार पनि पर्ने थियो ।

सुशासनको बिग टक दिने गृहमन्त्री लामिछानेले डीआइजी पोखरेलप्रति देखाएको मायामोहप्रति आलोचना भएको थियो ।

पोखरेल र पूर्व एआइजी दिवेश लोहनी साडु दाजुभाइ हुन् । लोहनीको समेत जोडबलमा पोखरेललाई अवकाशपछि विशिष्ट श्रेणीको सेवासुविधाका लागि एकदिने एआइजी बनाउन लागिएको थियो ।

Published : Friday, 2024 July 5, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया