राज्यले नचिनेकी श्रीमती सीताकाे नाममा सरकारी ढुकुटीबाट कलेज : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीतजङ्ग बस्नेतले राज्यले नचिनेको र राज्यप्रति कुनै दायित्व नरहेकी सीता दाहालको नाममा कलेज खोल्न लागेकोमा विरोध गरेका छन् ।

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सांसद बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नीको नाममा राज्यको ढुकुटीको पैसा खर्च गरेर कलेज खोल्न बजेटमा कार्यक्रम राखेको भन्दै विरोध जनाए ।

उनले भने, ‘बरु राज्यले नचिनेको, राज्यमा कुनै योगदान नभएको प्रधानमन्त्रीको श्रीमतीलाई चिन्यो । उहाँको नाममा कलेज बनाउन बादशाह अकबरले आफ्नै श्रीमतीको ताजमहल बनाएँ झैँ राज्यको ढुकुटीको दुरुपयोग गरेर प्रचण्डजीले सीता दाहालको सीतालाई कति माया र सम्झना गरेको देखाउन यो बजेटको सुन्दर पक्ष पनि हो ।’

‘यो बजेट सरकारको घटकहरूले हेर्दा भालुको कन्पट भएको छ । यो हुनु नै थियो’, बस्नेतले भने, ‘प्रजातन्त्रमा ठूला दलले सरकार बनाउने हो । हाम्रो देशमा साना दलको सरकार मियो हुने ।’

उनले भने, ‘साना दलले जवाफदेहिता पनि सानो जनताको घेरामा हुने र ठूला दलहरूको देशभरि नै जवाफदेहिता हुन पर्छ । यो प्रावधानको उपहास हो ।’

यसको प्रतिविम्ब ऋणबाट आएको स्रोत र साधनमा देखिएको विनियोजनमा देखिएको अराजकताले देखिएको छ’, उनले भने ।

‘यसो हेर्दा कम्युनिस्टको मुखौटा मात्रै देखिन्छ । तर, देशको लागि भनेर गर्वका साथ दश वर्ष कथित जनयुद्ध लडेको माओवादीले नदेशको समस्या चिन्यो, नजनताको समस्या चिन्यो । बरु टाइ लगाउन मात्रै जान्यो’, कांग्रेस सांसद बस्नेतले भने ।

‘जनताभन्दा खाओवादीलाई बनाउन र ऋण लिएर भएर भए पनि राज्यको ढुकुटीमा हिस्सेदारी बनाउन जान्यो’, उनले भने ।

Published : Tuesday, 2024 June 4, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया