गंगालालद्वारा १२ करोडको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा त्रुटि स्वीकार, बोलपत्र रद्द, आन्तरिक अनुसन्धान होला ?
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारीले सर्जिकल, मेडिकल, क्याथ ल्याब डिस्पोजिबल लगायतका सामग्री खरिदका लागि गरिएको बोलपत्र रद्द गरेको छ ।
बोलपत्रलाई थप प्रक्रियामा लैजादा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरित हुने हुँदा बोलपत्र रद्द गरिएको चैत १६ गते जारी भएको सूचनामा उल्लेख छ । केन्द्रले करीव १२ करोडको बोलपत्र रद्द गरेको छ ।
‘एसजीएनएचसी/एनसीबी/०८०/०८१/२३’को बोलपत्रमार्फत केन्द्रले सामग्रीहरू खरिदका लागि आशयपत्र समेत जारी गरिसकेको थियो । बोलपत्र मूल्याङ्कन समितिले सार्वजनिक खरिद ऐनलाई उल्लंघन गरेर चैत १३ गते आशयपत्र जारी गरेपछि विभिन्न आशंकाहरू उब्जिएका थिए । सो विषयमा रिपब्लिका दैनिकले समाचार प्रकाशित समेत गरेको थियो ।
बोलपत्र रद्द भएको सूचनामा भनिएको छ, ‘यस शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका लागि आवश्यक सर्जिकल, मेडिकल, क्याथल्याब डिस्पोजेबल र अन्य (एसजीएनएचसी/एनसीबी/०८०/०८१/२३) सामान खरिद गर्न मिति २०८०/०८/२७ गतेको गोरखापत्र राष्ट्रिय दैनिक प्रकाशित सूचना बमोजिम बोलपत्रदाताहरूको बोलपत्र स्वीकार गरी प्रकृया अघि बढाइएकोमा सार्वजनिक खरिद नियमावलीको नियम ५३ को उपनियम (५) बमोजिम बोलपत्रको मान्य अवधिभित्र सम्पूर्ण बोलपत्र मूल्याङ्कन प्रक्रिया सम्पन्न गरी सम्झौता भइनसकेको अवस्थामा यस बोलपत्रलाई थप प्रक्रियामा लैजाँदा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरित हुने हुँदा यो बोलपत्र स्ट्यार्ण्ड बिडिङ डकुमेन्ट को आईटीबी ३८.१ बमोजिम रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।’

केन्द्रका दुई पूर्व कर्मचारी र मेडिकल माफियासँग मिलेर स्वास्थ्य सामग्री खरिदमा कैफियत र मिलोमतो गरेको आशंकाहरू भइरहेका बेला बोलपत्र रद्द भएपछि यो विषय झन् रहस्यमयी बनेको छ । केन्द्रले यो प्रकरणलाई आन्तरिक रुपमा छानविन गरेर स्वास्थ्य सामग्री खरिदमा ठूलो खेलवाड गर्ने कर्मचारी वा समूहलाई कारबाही गर्नुपर्ने आवाज उठेको छ ।
नियमावली विपरित आशयपत्र पाउनेमा केन्द्रका पूर्व कर्मचारीद्वय विमल उप्रेती (आर्थिक प्रशासन प्रमुख) र रामप्रसाद आचार्य (कर्मचारी प्रशासन प्रमुख)का कम्पनीहरू रहेका थिए । यो समूह समितिसँग मिलेर शहीद गंगालाल हृदय केन्द्र, बाँसवारीलाई सिण्डिकेटका रुपमा चलाइरहेको छ ।
गंगालालमा ऐन मिचेर पूर्वकर्मचारीहरू र मेडिकल माफियालाई दिइयो १२ करोडको सामान खरिदको स्वीकृति
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया