भारतको आर्थिक सहयोगमा दाङमा २ वटा विद्यालयको भवन निर्माण

घोराही । भारत सरकारको आर्थिक सहयोगमा दाङमा निर्मित दुई वटा विद्यालय भवनको उद्घाटन गरिएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारतको १.७६ करोड रुपियाँ सहयोगमा निर्माण गरिएको दाङको लमही नगरपालिका, बनगाउँस्थित बाल जनता माध्यमिक विद्यालयको भवनको शुक्रबार उद्घाटन गरिएको भारतीय राजदूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

भारतकै २.८७ करोड आर्थिक सहयोगमा निर्माण गरिएको घोराही उप–महानगरपालिकास्थित पदमोदय पब्लिक नमूना माध्यमिक विद्यालयको भवनको पनि उद्घाटन गरिएको छ ।

दुवै भवनको लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्नबहादुर खत्री, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका मेयर जोगराज चौधरी र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

बाल जनता माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै प्रयोगशाला, उपकरण, फर्निचर र दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको छ ।

पदमोदय पब्लिक नमूना माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको छ ।

भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ ।

४९० वटा परियोजना सम्पन्न गरिसकेको दूतावासले जनाएको छ । यीमध्ये लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा ६१ वटा परियोजना रहेका छन् । जसमा ६ वटा परियोजना दाङमा छन् ।

Published : Saturday, 2024 May 25, 6:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया