सुरक्षित मातृत्वको सेवा निःशुल्क छ, स्वास्थ्य संस्थाहरूले सेवा दिनुपर्छ : सभापति डा.राणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले मातृत्व स्वास्थ्य सेवामा सरकारबाट अनुदान पाउने स्वास्थ्य संस्थाहरूले सेवा दिन कञ्जुस्याँ गर्न नहुने बताएकी छिन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै डा.राणाले सरकारबाट अनुदान र सुविधा लिएका स्वास्थ्य संस्थाले आमाहरूलाई निःशुल्क सेवा दिनै पर्ने बताइन् । त्यसका लागि सरकारको नियामक निकायले निर्देशन दिनुपर्ने उनले बताएकी छिन् ।

‘सरकारले दिने सेवाहरू निःशुल्क छ, सुरक्षित मातृत्वसम्बन्धी । सरकारी अस्पताल यो सेवा दिनलाई हिच्किचाइ रहेको छ । यो सेवा दिन थालेपछि धेरै जना निःशुल्क सेवा भनेर आउँछन् र मिट गर्न सक्दैनौँ भनेर उहाँहरूले रिजेक्ट गरिरहनुभएको छ’, सभापति डा.राणाले भनिन् ।

‘यो विषयमा सरकारलाई निर्देशन गरिदिनुस् । जति पनि सरकारको पैसा लिएर सञ्चालन भएका हेल्थसम्बन्धी संस्थाहरू छन् उहाँहरूले यो सेवा दिनु पर्‍यो नि । यता सरकारी अनुदान लिने, उता चाहिँ सरकारको अनुदानबाट आमाहरूले पाउने सेवा म दिन्न भन्न कसरी उहाँहरूले सक्नु हुन्छ ? यसको लागि हामी सांसदहरूले आग्रह गर्नुपर्छ’, उनले भनिन् ।

‘हाम्रो लक्ष्यलाई भेटाउन हामी सबै मिलेर अझै पनि प्रयास गर्नुपर्ने देखिन्छ । यो प्रयास आजैदेखि सुरु गर्नुपर्छ’, उनले भनिन्, ‘सूचना आदान प्रदान भयो भने हाम्रो गन्तव्य कहाँ हो भनेर थाहा हुन्छ । नेपाल सरकारले मार्गदर्शन गरेपछि हामी अगाडि जाने हो ।’

सभापति डा.राणाले भनिन्, ‘धेरै दिनपछि सुरक्षित मातृत्वले धेरै पार्टनरहरूसँग बसेर छलफलहरू गरेर पास भएको विधेयकको के छ त ? वस्तुस्थिति, कस्तो स्थितिमा हामी पुग्यौँ त ? छलफल गरेका छौँ । अगाडि बढाउने काम सांसदकै हुन्छ । यसलाई हामी कहाँसम्म लग्न सक्छौँ र नपुगेका चिज के छ भनेर सानो छलफल राखेका थियौँ । गहन छलफल भएको छ ।’

‘संसदमा पनि यो कुराहरूलाई अवश्य पनि उठाउने छौँ । सुरक्षित मातृत्व सञ्जालको खेल्नुपर्ने भूमिकालाई पनि मार्गदर्शन गरेको छ’, उनले भनिन् ।

‘पाठेघरको मुखमा हुने क्यान्सर, फिस्टुलादेखि लिएर, कति सुत्केरी विदा कति हुनुपर्छ ? भन्ने कुराहरूलाई यसले मार्गदर्शन गरेको छ’, उनले भनिन् ।

‘अब आउने दिनहरूमा कुन दिशा दिन्छ भन्ने कुरामा स्पष्ट हुनुपर्छ । फ्यामली प्लानिङहरू नेचर त्यति व्यापक छ । यसको पछाडि के के कुराहरू छ ? नेश्नल डेमोक्रेटिक हेल्थ सर्भे रिभिजिट गर्ने कुराहरू उठेको छ । त्यो चाहिँ जायज कुरा छ’, सभापति डा.राणाले भनिन् ।

‘सुसाइडको इण्डिकेटहरूहरू जुन देखिइरहेको छ ५ प्रतिशत युवाहरूमा देखिएको छ । इकोनोमिक्स फ्याक्टरहरू अझै धेरै अगाडि बढाउने की भन्ने कुराहरू हामीमा उठेको छ’, उनले भनिन्, ‘यो विषयलाई प्रमुख रुपमा हेर्न जरुरी छ । यसले आउने पुस्तालाई कसरी प्रभाव पार्छ ? भन्ने कुराहरू अहिले इंगित गरेको छ ।’

Published : Friday, 2024 May 24, 1:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया